गृहमन्त्री थापा चढेको हेलिकोप्टर आकस्मिक अवतरण

काठमाडौं / मौसम प्रतिकूलताका कारण गृहमन्त्री रामबहादुर थापा सवार सेनाको हेलिकोप्टर रामेछाप विमानस्थलमा अकास्मात अवतरण गरिएको छ ।

प्रदेश २ को सुरक्षा गोष्ठीमा कार्यक्रममा भाग लिन जनकपुर तर्फ जान लागेको एमआई – १७ हेलिकोप्टर मौसम प्रतिकूलताका कारण रामेछाप विमानस्थलमा अवतरण भएको छ ।

सिन्धुली तर्फको रुट हुँदै जनकपुर जाँदै गरेको हेलिकोप्टर अचानक रामेछाप उतारिएको हो । महाभारत क्षेत्रमा बाक्लो कुहिरो लागेको छ । हेलिकोप्टरमा गृहमन्त्रीका साथ गृह सचिव प्रेमकुमार राई र उच्च सुरक्षा अधिकारीहरु समेत रहेका छन् ।

सो हेलिकोप्टर साढे नौ बजे मन्थलीमा अवतरण भएको थियो । रामेछाप विमानस्थल प्रमुख अमित चौरसियाका अनुसार मध्यान्हसम्म जनकपुर तर्फको मौसममा सुधार नआएकाले थापा लगायतको टोली रामेछाप विमानस्थलमानै प्रतिक्षामा बसेको छ ।

Loading...
प्रकाशित मिति ११ आश्विन २०७६, शनिबार ०८:०६