दशैंमा घर जानेहरुको भीड

काठमाडौं / प्रहरीका अनुसार गएको २४ घण्टामा उपत्यकाबाट एक लाख ५६ हजार यात्रु बाहिरिएका छन् भने ६० हजार यात्रु भित्रिएका छन् । आठ हजार गाडी भित्रिए भने १३ हजार गाडी बाहिरिए । “यसले के देखाउँछ भने आजबाट उपत्यकाको चाप घट्दो छ भन्न सकिन्छ”, प्रहरी उपरीक्षक पौडेलले भन्नुभयो ।

आज घटस्थापनासँगै उपत्यकामा स्कूल÷कलेज बन्द भएकाले जामको समस्या कम हुने प्रहरीको अनुमान छ । तर पनि मुख्य व्यापारिक क्षेत्र र चोकमा भने गाडीसँगै मानवीय चाप बढी भएकाले त्यसको व्यवस्थापनमा प्रहरी खटाइएको महाशाखाले जनाएको छ ।

व्यापारिक क्षेत्रमा साँझको समयमा बढी मानवीय चाप रहेकाले त्यस क्षेत्रमा क्युमा केही गाडीहरु रहने गरेका छन् । उपत्यकाको सवारी व्यवस्थापन गर्न प्रहरीले ३६८ स्थानमा सवारी जाँच गरिरहेको छ । यसअघि ७५० ट्राफिक प्रहरी खटिएकामा अहले ४३० प्रहरी थप खटाइएको छ । बसपार्क विभिन्न नाकाका १५ स्थानमा विशेष चेकजाँच भइरहेको छ ।

मापसेविरुद्ध कडाइका साथ जाँच भइरहेको बताउँदै महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक ढकालले भन्नुभयो, “अब कसैले मापसे गरेर गाडी चलाउँछु भन्ने नसोचे हुन्छ ।”

मन्दिरमा पूजाआजा गर्ने स्थान र किनमेल गर्ने न्युरोड जस्ता स्थानमा बढी चाप छ, शुभकामना आदानप्रदान कार्यक्रमहरु बढेका छन्, त्यसतर्फ हामीले निगरानी बढाएका छौँ,” ढकालले भन्नुभयो ।

प्रहरीको सक्रियताले अहिले दैनिक १६ देखि १७ सयसम्म कारवाहीमा पर्ने गरेको उहाँले बताउनुभयो । “अब नागढुङ्गा क्षेत्रमा अस्तिको जस्तो जाम हुँदैन, ढुक्कसँग यात्रा गर्दा हुन्छ, केही समस्या परे प्रहरीलाई भन्नुुहोला, प्रहरीले सहयोग गर्ने छ”, महाशाखा प्रमुख ढकालले थप्नुभयो ।

ट्राफिक सचेतना, जानकारी र व्यवस्थापनका लागि स्वयम्सेवक र कलाकारहरुले समेत आ–आफ्नो ठाउँबाट सहयोग गरिरहेको महाशाखाले जनाएको छ ।

Loading...
प्रकाशित मिति १२ आश्विन २०७६, आईतवार १२:०३