किलोमै ३० रुपैया बढ्यो प्याजको भाउ

असोज / प्याजको भाउ अहिले सम्मकै उच्च भएको छ । सोमबार किलोमा ३० रुपैयाँ बढेको छ ।

काठमाण्डुको कालिमाटी बजारमा आइतबार प्याज किलोको १ सय ५ रुपैयाँ खुद्रा मूल्य तोकिएकोमा सोमबार किलोको १ सय ३५ रुपैयाँ तोकिएको कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

भारतले आइतबार प्याज निकासीमा रोक लगाएसँगै यसको असर नेपाली बजारमा पनि परेको कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिका सदस्य राजन न्यौपानेले बताए ।

नेपालमा धेरैजसो प्याज भारतबाट ल्याइने भएकाले भारतबाट निकासी रोकिँदा नेपालमा प्याजको कमी हुने र भाउ अझै बढ्न सक्ने उनको भनाइ छ । कालिमाटीमा दैनिक १२ देखि १३ ट्रक प्याज ल्याइने गरेको छ ।

केही दिन यता तरकारीसँगै प्याजको भाउ बढेपछि हैरान भएका उपभोक्तालाई चाडबाडको बेलामा अझै महङ्गोमा प्याज किन्नुपर्ने भएको छ ।

नेपालमा भारतबाट मात्र वार्षिक २ अर्बभन्दा बढीको प्याज आयात हुँदै आएको छ ।

Loading...
प्रकाशित मिति १३ आश्विन २०७६, सोमबार १३:३४