आइतबार सार्वजनिक बिदा !

काठमाडौँ / सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतका लागि आइतबार सार्वजनिक बिदा दिने गृह मन्त्रालयको प्रस्ताव बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले पारित गरेसँगै सार्वजनिक बिदा दिइने भएको हो।

चिनियाँ राष्ट्रपति सी चीनफिङको यही असोज २५ गतेदेखि हुने दुईदिवसीय राजकीय भ्रमणको मिति सार्वजनिकसँगै स्वागतको तयारीले तीव्रता पाएको छ ।

बडादशैँकै बीचमा पनि भ्रमणका अवसरमा द्विपक्षीय वार्ता र सम्झौताको तयारीका लागि नेपाल सरकारका सम्बन्धित निकाय एकातिर जुटेका छन् भने अर्कातिर राजधानी काठमाडौँको सडक मर्मत र अन्य सौन्दर्य अभिवृद्धिले व्यापकता पाएको छ । विगतदेखि सडक विस्तारको काम भइरहेको अवस्थामा छिटोछिटो काम सकाउन र रङरोगन गर्न अहिले मुख्य सडकमा चापाचाप देखिन्छ ।

सी चीनफिङको स्वागतको लागि काठमाडौँका सडक पोलहरुमा राष्ट्रपति सीको तस्वीर टाँगिएको छ। सी सँगै नेपाल आउन लागेका विशिष्ट पाहुनाहरुको स्वागतको लागि रातारात काठमाडौँका सडक सजाइनुका साथै राष्ट्रपति सीको तस्वीरसमेत टाँगिएको हो। यस्तै काठमाडौँका सडकका पोलहरुमा चिनियाँ राष्ट्रपति सीको तस्वीरसँगै राष्ट्रपति विद्यादेवी भण्डारीका तस्वीरसमेत टाँगिएका छन्।

भ्रमणका क्रममा चिनियाँ विशिष्ट पाहुनाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रतिनिधिमण्डलस्तरमा औपचारिक वार्ता गर्नुहुनेछ । राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको उपस्थितिमा द्विपक्षीय सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुने छ ।

राष्ट्रपति भण्डारी तथा प्रधानमन्त्री ओलीका यसअघिका चीन भ्रमणमा भएको केरुङ–काठमाडौँ रेल, कनेक्टिभिटी, ऊर्जा र अन्य क्षेत्रमा भएका द्विपक्षीय सम्झौता र छलफलले सीको भ्रमणमा सार्थकता पाउने अपेक्षा गरिएकाले यो भ्रमणलाई महत्वका साथ हेरिएको छ ।

Loading...
प्रकाशित मिति २४ आश्विन २०७६, शुक्रबार ०३:३१