पर्यटकको पहिलो रोजाइ तालपोखरा

रामपुर घुम्न आउने धेरैजसो व्यक्ति तालपोखरा पुग्ने गर्छन् । तालपोखरामा डुङ्गा नचढिकन फर्कने कमै हुन्छन् । यहाँ आएका पर्यटकको पहिलो रोजाइ र घुम्ने थलोनै अहिले तालपोखरा बनेको छ । फेवातालको स्वरुपमा रहेको तालपोखराले आकारमा सानो भएपनि छोटो समयमा नै पर्यटकको मन लोभ्याउन सफल भएको छ ।

विभिन्न सञ्चारमाध्यममा आएका समाचार सुनेर, हेरेर तालपोखरा आउने आन्तरिक पर्यटकको उपस्थिति दिनहुँ बढ्दै गएको छ । बुटवलबाट गल्याङसम्मको यात्रामा निस्कनुभएका सुदीप भण्डारीलाई पनि एकपटक तालपोखरा नघुमिकन आफ्नो गन्तव्यमा फर्कन मन भएन । तालपोखरामा डुङ्गामा सयर गर्दा फेवातालको अनुभूति भएको उहाँले बताउनुभयो ।

“तालपोखराका बारेमा चर्चा हुन थालेपछि एकपटक नआइकन मनले मानेन, तालपोखरा क्षेत्र घुम्दा अति सुन्दर लाग्यो, रामपुर क्षेत्रको पर्यटन विकासको दरिलो खम्बा बन्नेछ”, उहाँले भन्नुभयो ।

आन्तरिक पर्यटकको अलावा बाह्य पर्यटकलाई पनि भित्र्याउने व्यवस्था गर्नसके आर्थिक समृद्धिमा पनि टेवा पुग्ने उहाँको भनाइ छ । दशैँपर्व शुरु भएदेखि तालपोखरा घुम्नेको चहलपहल बढ्दो छ । चाडपर्वको समय भएकाले अहिले दैनिक ४०० को हाराहारीमा डुङ्गा चढ्ने गरेको डुङ्गा चालक भगवान् देवकोटाले बताउनुभयो ।

“दशैँतिहार पर्वको समय भएकाले अन्य समयभन्दा तेब्बर बढी पर्यटक भित्रिएका छन्, हामीलाई पनि काम पुगेकै छ”, उहाँले भन्नुभयो । तीन महीनासम्म तालको पानी सुकाएर मर्मत तथा सम्भार गरेपछि तालपोखराको सौन्दर्य नै फरक देखिएको छ ।

तालपोखरा परिसरको ५५० मिटर घेराबार, तालको बीचमा रहेको जलेश्वर महादेवको मन्दिर परिसरमा २०५ मिटर फलामे बार र मन्दिर परिसरमा दुई वटा पार्क निर्माण गरिएको छ ।

रामपुर नगरपालिकाले रु २० लाख र नेपाल पर्यटन बोर्डबाट स्तरोन्नति शीर्षकमा रु २० लाख सहयोग रकमबाट तालपोखराको स्तरोन्नति गरिएको हो । करीब रु ४५ लाख बराबरको मर्मत कार्य सम्पन्न भएको छ भने अब बाँकी अझै रु एक करोड २५ लाखको काम रहेको समितिले जनाएको छ । अहिलेसम्म तालपोखराको पर्यटन विकासमा करीब तीन करोडको काम भइसकेको छ ।

तालपोखरालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्दै जाँदा यसले रामपुर नगरपालिका मात्र नभई कालीगण्डकी वेंशी क्षेत्रकै पहिचान बढाएको तालपोखरा संरक्षण समितिका अध्यक्ष सागरप्रसाद देवकोटाले बताउनुभयो ।

“असोज शुरु भएपछि पर्यटक बढेका छन्, नियमितरुपमा बिहान दिउँसोभरि दुई वटा डुङ्गा चलिरहेको छ”, उहाँले भन्नुभयो । प्रतिव्यक्ति रु ५० टिकट कायम गरिएको छ । तालपोखरा वरपर डुङ्गामा घुम्ने, तालको बीच भागमा रहेको जलेश्वर महादेवको मन्दिर दर्शन गरेर फर्कने गरेको पाइन्छ । कोही घण्टौँसम्म मन्दिर परिसरमा रहेको पार्कमा रमाएर फर्कने गर्छन् ।

तस्बिर / सन्ध्या बुढा

तालपोखरामा सेल्फी जोन निर्माण गरिएपछि फोटो खिचाउनेको भीड लाग्ने गरेको छ । स्थानीय कुलो, नहर, खोल्सीबाट पानी पर्याप्त नभएपछि नजिकै बहेको कालीगण्डकीबाट लिफ्टिङ गरेर पानीको व्यवस्थापन गरिएको छ । डुङ्गा सञ्चालनबाट स्थानीयलाई रोजगारीको अवसर मिलेको छ ।

दैनिक डुङ्गाबाट सरदरमा पाँच हजार आम्दानी हुने गरेको छ । सबै खर्च कटाएर डुङ्गाबाट मासिक रु एक लाख ३५ हजार आम्दानी भइरहेको छ । अघिल्ला वर्षका तुलनामा यो वर्ष आम्दानी बढ्नसक्ने तालपोखरा संरक्षण समितिका सचिव सुनिल देवकोटा बताउनुहुन्छ ।

सामान्य वर्षाद्को पानी जम्मा हुने खाडलका रुपमा रहेको तालपोखरालाई यहाँका स्थानीयले पर्यटकीय क्षेत्रका रुपमा विकास गरेका हुन् । झण्डै ७० रोपनी क्षेत्रफलमा फैलिएको यो क्षेत्र पहिला पानी जम्मा हुने खाडका रुपमा रहेपनि अहिले भने प्रशस्त आम्दानी गर्ने गतिलो माध्यम बनेको छ । महायज्ञबाट केही आम्दानी सङ्कलन गरी विसं २०६६ बाट पर्यटन विकासका काम थालनी गरिएको संस्थापक अध्यक्ष देवराज देवकोटा बताउनुहुन्छ । पूर्वदेखि पश्चिमसम्मका विभिन्न जिल्लाका आन्तरिक पर्यटक यहाँ अवलोकन गरेर फर्कने गरेका छन् । (रासस)

Loading...
प्रकाशित मिति October 15, 2019