“भत्किएको मन”

काठमाडौं / कहाँबाट सुरु गरुँ भत्किएको जीवनको कथा ? चोखो माया लगाउन खोज्दा धोका अनि विछोडको वेदना सहन वाध्य हुनु पर्दो रहेछ सायद यहि नै जीवन हो । दिन पछि रात, हाँसो पछि आँसु र मिलन पछि विछोड त संसारको रीतै रहेछ ।

यसलाई कसैले मेटाउन सक्दैन । न वाँध्न नै । बस, यो त आफ्नै गतिमा निरन्तररुपमा चलिरहन्छ । मानिसको जीवन भनेको बगेको खोलासरी रहेछ जुन फर्केर आउँछ भन्ने कुनै आशा नहुँदो रहेछ ।

परिस्थिति र भोगाईका क्रममा आउने पीडादायक क्षणको सामना गर्दै जीवनसंग खेल्नु अनि मनले नचाहँदा नचाहँदै पनि आँसुलाई अँगाली हिंड्नु पर्दोरहेछ । तर जीवन भनेको रहस्यमय कल्पना हो । अनि चुनौती पनि सामना गर्न सिक्नुपर्छ । मानिसको सम्झना कहिल्यै मर्दैन । मानिस बिलाएर गए पनि उसको सम्झना मनको एउटा कुनामा सधै मखमली फुल झै फुलीरहन्छ कहिल्यै नओइलाउने गरी । बस, सम्झना सागरमा डुब्ने रहेछ जिन्दगी ।

जीवन जिउने क्रममा विभिन्न परिस्थिति संग संघर्ष गर्दागर्दै कतै भुमरीमा, कुनै दोबाटोमा फस्दापनि कुनै साथीको साथ नपाउँदा मणि विनाको र्सप जस्तै छट्पटिंदो रहेछ यो मन । यो जीवन कस्तो जीवन कसैको साथ बिना एक कदम पनि अघि बढाउन नसकिने ? प्रेमको सुन्दर बगैचामा रहेको फुल फुलाउन वसन्त ल्याउने मेरो मीठो सपना र चाहना चैत–वैशाखको हुरीसगै चकनाचुर भयो ।

हो, गल्ती मेरै थियो । मैले मेरो मनको आवाज सुन्नुपर्ने ठाउँमा यो निष्ठुरी समाजको आवाज सुनी जानीजानी आफुलाई त्यो विश्वासघातको दलदलमा फसाएँ । मैले ढुँगालाई देउता सम्झी पुज्ने प्रयास गरेँ । माया गरी आँखाको नानी बनाई संसारलाई हेर्ने प्रयास गरेँ । मायाको अर्थ नबुझी वास्ताविकतालाई ननियाली एकोहोरो प्रेम गरिरहे…।गरिरहेँ…।।

यो संसारमा साँचो माया पाउनु मणि फेला पार्नु जस्तै हो । एक हातले ताली बज्दैन, एकोहोरो रोटी पाक्दैन । एकोहोरो प्रेम पनि कहिल्यै सफल हुँदैन भन्छन् । वास्तवमा हो रहेछ । एकोहोरो प्रेम सफल हुदाँ रहेनछ । यसको अन्त्य मात्र…………।।

र वेदनाको सागरमा डुबेर हुन्छ । प्रेममा पीडा हुन्छ, धोका हुन्छ भन्ने थाहा हुँदाहुँदै पनि मानिस प्रेमको जालमा फस्छन् । अखिरमा किन यस्तो हुन्छ ? भन्छन्–प्रायः सबैको जीवनको पहिलो प्रेम सफल हुँदैन ? के प्रेम गर्नु अपराध हो ? पाप हो ? यदि हो भने ठीकै छ सफल जिन्दगीको कामना छ तिमीलाई आफु अधुरो भए पनि………।

वास्तवमा यो संसार निष्ठुरी छ । आफु मात्र रमाईलो मान्छ । तर यो कलिलो कोपिलाको कलिलो मनलाई विछोडको काँडाले छियाछिया पारिदिन्छ । आकाशले दिन–रातसंग, चन्द्रमाले शितलतासंग, धर्तीले वनपाखाले सुरिलो सुसाइसंग आनन्दायी क्षण बिताइरहेको हुन्छन् । तर खुसिको पलालाई भने आशुको सागरमा डुबाइदिन्छन् । आखिरमा किन साँचो प्रेमको अन्त्य वियोगान्त हुन्छ ?

यो संसार निष्ठुरी छ, स्वार्थी छ । योसंग लड्न साह्रै गाह्रो छ । जो यो संग लड्न सक्दैन ऊ जिउँदो लास भएर बाँच्न वाध्य हुन्छ । जसको अस्तित्व हुँदैन उ यो संसारको खुला आकाशमा विलीन हुन्छ । जसरी धुँवा हावामा विलीन हुन्छ त्यसरी नै ऊ अस्तित्वविहिन भै तड्पी–तड्पी बाच्न विवश हुन्छ ।

कसैको भोगाईसंग आधारित कथा नेपाली मन छुने कथाहरु बाट साभार गरिएको हो । कृपया मन परे शेयर गर्नुहोला ।

Loading...
प्रकाशित मिति ३ कार्तिक २०७६, आईतवार ०७:४९