जनगायक शर्माको छोराको उपचारका लागि सांसदको सहयोग

काठमाडौँ । जनगायक जीवन शर्माको छोराको उपचारका लागि तनहुँ क्षेत्र नं १ का सङ्घीय सांसद कृष्णकुमार श्रेष्ठले आर्थिक सहयोग गर्ने घोषणा गर्नुभएको छ ।

जटिल रोगका कारण त्रिवि शिक्षण अस्पतालमा उपचाररत शर्माका माइला छोरा अमृत आचार्यको उपचारमा सहयोग गर्ने उद्देश्यले सांसद श्रेष्ठले ५० हजार आर्थिक सहयोग गर्ने घोषणा गर्नुभएको हो ।

जनताका पक्षमा गीत गाउने वरिष्ठ कलाकार शर्माको परिवारमाथि आइपरेको विपत्मा साथ दिन एक महीनाको तलबवापतको रकम सहयोग गर्न लागेको सांसद श्रेष्ठले जानकारी दिनुभयो ।

“जनगायक शर्माको छोराको उपचारका लागि सरकारले पनि गम्भीर भएर सहयोग गर्नुपर्छ”, सांसद श्रेष्ठले भन्नुभयो, “घोषणा गरेबमोजिमको रकम केही दिनभित्रै उपलब्ध गराउँछु ।”

शर्माका छोरा अमृतको घाँटीको नलीमा जटिल समस्या देखिएको छ । जनगायक शर्माले आर्थिक अभावका कारण छोराको उपचारमा कठिनाइ भइरहेको बताउनुभयो ।

सांसदमा निर्वाचित भएसँगै सांसद श्रेष्ठले आफ्नो तलबवापतको रकम जिल्लास्थित विभिन्न सङ्घसंस्थालाई उपलब्ध गराउँदै आउनुभएको छ । सांसद श्रेष्ठले विभिन्न विद्यालय, आमा समूह, मठमन्दिर, खानेपानी योजना लगायतलाई आफ्नो तलबवापतको रकम उपलब्ध गराउनुभएको छ ।

Loading...
प्रकाशित मिति १० कार्तिक २०७६, आईतवार ०५:४८