नेवार समुदायले आज भाइटीका लगाउँदै

काठमाण्डाै / मंगलबार भाइटीका नगरेका नेवार समुदायले आज भाइटीका लगाउँदैछन् ।

नेपाल पञ्चाङग निर्णायक समितिको निर्यण अनुसार हिजो अर्थात् मंगलबार नै भाइटीका मनाइए पनि उपत्यकाका नेवार समुदायले भने आज मात्रै भाइटीका मनाउँदैछन् ।

उपत्यकाका नेवार समुदाय बाहेकले भने अधिकांशले हिजो मंगलबार नै भाइटीका लगाएका छन् । मंगलबार बिहान ११ बजे ५५ मिनेटको उत्तम साइतमा दिदीबहिनीले दाजुभाइलाई भाइटिका र फूलमाला लगाइदिए भने उत्तम साइतमा टिका लगाउन नपाएकाले भने आफूलाई पायक पर्ने समयमा टिका लगाए ।

भाइटीकाको दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइदिने चलन छ । दिदीबहिनीले लगाएको तेलको घेरो र मखमली माला नसुकुञ्जेल दाजुभाइलाई आजको भाइटीकाको प्रसादको कामनाले केही हुँदैन भन्ने सामाजिक विश्वाससमेत छ ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष डाक्टर रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

नेवार समुदायले मनाउने किजा पुजा अर्थात भाइटीकाको लागि आज सरकारले सार्वजनिक बिदा दिएको छ ।

Loading...
प्रकाशित मिति १३ कार्तिक २०७६, बुधबार ०३:४५