देशभर भारी वर्षा, सतर्कता अपनाउन आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले देशभरको मौसम पूर्ण बदली भई अधिकांश ठाउँमा वर्षा भइरहेको जनाएको छ । बिहीबार मनसुनको न्यूनचापीय रेखा पूर्वदेखि पश्चिम तराई भू–भागमा रहने अनुमान छ ।

महाशाखाका अनुसार शुक्रबार पनि मौसम बदलिइरहने र केही पश्चिमी भूभाग तथा मध्य र पूर्वका धेरै भूभागमा वर्षाको सम्भावना छ ।

वर्षा जारी रहने भएकाले नदीहरूमा पानीको बहाव, स्तर बढ्नुका साथै पहाडी क्षेत्रमा पहिरोको जोखिम छ । पश्चिम भेगका एक–दुई र मध्य तथा पूर्वी नेपालका धेरै स्थानमा भारी वर्षा हुने भएकाले सतर्कता अपनाउन महाशाखाले स्थानीयलाई आग्रह गरेको छ । भारी वर्षाका कारण हवाई तथा सडक यातायातमा समेत अवरोध हुन सक्ने सम्भावना छ ।

वर्षासँगै देशभरका नदीनालाको बहाव बढ्दो छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार विशेष गरी कन्काई, सप्तकोसी, तमोर, दूधकोसी, सुनकोसी, कमला, बागमती र पूर्वी राप्तीमा पानीको सतह खतराको विन्दुसम्म पुग्न सक्नेछ । त्यस्तै पहिरोग्रस्त पहाडी क्षेत्र भएर बग्ने खोलाहरूमा आकस्मिक बहाव बढ्न सक्ने महाशाखाले जनाएको छ ।

Loading...
प्रकाशित मिति २७ असार २०७६, शुक्रबार ०२:३२