देशले बली मागे दिन पनि तयार

राजकुमार विष्ट, काठमाण्डाैँ ।भारतले हालै जारी गरेको नयाँ नक्सामा नेपालको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो भूभागमा समेटेको प्रति नेपालको तर्फबाट चौतर्फी विरोध भईरहेकोछ । राजनीतिज्ञ, बुद्धिजीवी,सङ्घ सङ्गठन तथा सचेत नागरिकको स्तर बाट भारतको यो कदमलाई भारतीय विस्तारबादकोे रूपमा आलोचना हुँदै आएको छ ।

भारत सरकारको यो कार्यबाट सबै नेपालीहरू क्षुब्द भएका छन्। दुई देशबिच सुल्झाउन बाँकी रहेका सीमा सम्बन्धी विषयहरू, कूटनीतिक माध्यमबाट वार्ताद्वारा दुवै पक्षको सहमतिमा ऐतिहासिक दस्ताबेज एवं प्रमाणका आधारमा टुङ्ग्याउनुको सट्टा एकपक्षीय ढङ्गबाट चालिएको कदम प्रति रुष्ट भएका छन् ।

सडक देखि सामाजिक सञ्जाल,देखि सभा, बहस, छलफल देखि चिया पसल सम्म पनि यसैको चर्चा चलिरहेको छ । नेपाली हरूले गो ब्याक इन्डियाको नारा घन्काई रहेका छन् भने विभिन्न स्थानमा भारतको नक्सा जलाउने देखि लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको समेत पुत्ला दहन गरी सकेका छन् ।

भारत सरकारको तर्फबाट नेपालको सीमा नमिचिएको दाबी गर्दै आइरहेको बेला भने नेपालका प्राय सबै दल लगायत सरकारी तवरबाट पनि यसको विरोध गरी सकेको छ । यसै क्रममा आज प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वपक्षीय बैठक बोलाएका छन् । जे होस नेपाली नागरिकहरू तर्फबाट नेपाली भूभाग फिर्ता नगरिए त्यसको निम्ति बली चढ्न पनि तयार रहेको बताउँछन् ।

यस क्रममा गैर आवासीय नेपाली सङ्घले पनि यसको विरुद्ध विज्ञप्ति जारी गरी सकेको छ भने दार्चुलाका स्थानीय प्रतिनिधिले पनि विज्ञप्ति जारी गरी भारतले चालेको यो कदमको भर्त्सना गरेका छन् ।

Loading...
प्रकाशित मिति २३ कार्तिक २०७६, शनिबार ०१:४३