आरजु देउवाले भनिन्, केसी जीवनभर मेडिकल सुधारमा लागे, सरकारले माग पूरा गर्नुपर्छ

काठमाडौं । डा. गोविन्द केसी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा आमरण अनसन बसेको नौ दिन पुगेको छ । तर, देउवाले अहिलेसम्म केसीको अनसनबारे धारणा व्यक्त गरेका छैनन् ।

विगतमा देउवाले केसीको माग पूरा गराउन सरकारसँग आग्रह गर्दै आएका थिए । उनी प्रधानमन्त्री भएकै बेला पनि केसी अनसनमा बसेका थिए । त्यसबेला केसीले राखेका केही माग पूरा गरी अनसन तोडाइएको थियो ।

नौ दिनपछि देउवा पत्नी डा.आरजु देउवाले भने केसीका माग पूरा गर्न सरकारसँग आग्रह गरेकी छन् । मंगलबार बिहान सामाजिक सञ्जालमार्फत आरजुले केसी जीवनभर मेडिकल शिक्षा सुधारका लागि लागेकाले उनले उठाएका सबै माग पूरा गर्न सरकारलाई आग्रह गरेकी हुन् । उनले केसीका मागलाई तत्काल वार्ताबाट समाधान गर्नुपर्ने विचार व्यक्त गरेकी छन् ।

केसीको माग कुनै व्यक्तिगत नभई नेपालीको गुणस्तरका लागि भएको उनको भनाइ छ । नौ दिनसम्म अनसन बसेकाले केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि डडेल्धुरावासी चिन्तित बनेका छन् । उनीहरूले केसीका माग पूरा नगरी उनलाई काठमाडौं पठाउन नदिने भन्दै आन्दोलनसमेत गरेका छन् ।

सोमबार बिहान सरकारले केसीलाई ल्याउन नेपाली सेनाको हेलिकोप्टर डडेल्धुरा पुगेको थियो । तर, केसीको अडान र स्थानीयको अवरोधपछि चार घन्टा बसेर रित्तै फिर्ता भएको थियो ।
आरजु भन्छिन्

मेडिकल शिक्षा सुधारको माग राख्दै डडेल्धुरामा १७ औ अनशन बस्नुभएका प्राध्यापक डा.गोविन्द केसीसँग सरकारले तत्काल वार्ता गरेर अनसन तोडाउन आवश्यक छ । आफ्नो जीवनभर कुनै व्यक्तिगत स्वार्थमा नअल्झी मेडिकल क्षेत्रको सुधारमा लाग्नुभएका डा.केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । सरकारले तत्काल डा.केसीसँग वार्ता गरेर उहाँको अनसन तोडाउन म विशेष आग्रह गर्न चाहन्छु ।

Loading...
प्रकाशित मिति २६ कार्तिक २०७६, मंगलवार ०५:४३