हरिवंश आचार्यले मनाए ६३औँ जन्मदिन(भिडियो)

वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यको आज जन्मदिन परेको छ । वि. सं २०१४ कार्तिक २७ गते जन्मिएका उनी नेपाली सफल नेपाली हास्य कलाकारहरू मध्येमा पर्छन् । अभिनय तथा गायनमा कुशल यिनी आज ६३औँ जन्मदिन मनाएका हुन् ।

जन्मदिनको अवसर पारेर रेडियो अडियोले आयोजना गरेको कार्यक्रममा कलाकारिताका विभिन्न व्यक्तित्वको उपस्थिति थियो। जन्मोत्सव कार्यक्रममा हरिवंशका कलाकारिताका सहयात्री मदनकृष्ण श्रेष्ठ, दीपाश्री निरौला, केदार घिमिरे, कुन्जना घिमिरे, दीपक राज गिरी लगायत दर्जनौँ कलाकार उनलाई जन्मदिनको शुभकामना दिन सहभागी भएका थिए । यसै अवसरमा हाँस्य कलाकार केदार घिमिरे, दीपाश्री निरौलाको समूहले ‘हरि भजन’ प्रस्तुत गरेका थिए । जसमा हरिवंशको जीवनका घटना र उनको बारेमा रमाइला किस्सा समेटेका थिए ।

कार्यक्रममा सहभागी कलाकारले गीत गाउँदै निकै मनोरञ्जनात्मक तरिकाले कार्यक्रमलाई सम्झन योग्य बनाए । जन्मदिनको केक काट्दै हरिवंशले आफ्नो र मदन कृष्ण सहकार्य गरेको ४० वर्ष पुगेको र यो ४० वर्ष नभएर ८० वर्ष भएको बताएका छन् । यसै गरी उनले मह सञ्चारसँग जोडिएका स्मृति सम्झिए ।

उनले, चलचित्र क्षेत्रका लागि सुनौलो युग सुरु हुन लागेको समेत तर्क गरे । क्लिन फिड लाग्नु, विदेशी चलचित्रमाथि कोटा प्रणालीको कुरा आइरहनुले पनि अब यो क्षेत्र झनै बलियो हुने उनको दाबी थियो । कार्यक्रममा उनलाई शुभकामना दिँदै मदनकृष्ण निकै भावुक भए ।

मित्रताको यो सहयात्रामा हरिवंशलाई साथमा पाउनु आफ्नो लागी ठुलो भएको बताए । यस्तै, मह जोडीका ‘म’ अर्थात् मदनकृष्ण श्रेष्ठले आफू र हरिवंशको मित्रता एउटा इतिहास भएको बताए । नेपाली वाङ्मयका युगिन व्यक्तित्वलाई शुभकामना ।

Loading...
प्रकाशित मिति २७ कार्तिक २०७६, बुधबार ११:०५