‘हाम्रो मित्रता एउटा इतिहास बनेर रहन्छ ’

काठमाडौं: नेपाली हास्यव्यंग्य क्षेत्रका चर्चित कलाकार हरिवंश आचार्यले बुधबार ६२औं जन्मोत्सव मनाएका छन्। उनी पिता होमञ्जय आचार्य र आमा गणेशकुमारीको कोखबाट २०१४ साल कात्तिक २७ गते जन्मिएका हुन्। नेपाली सिनेजगत् र हास्यव्यंग्यको क्षेत्रमा लामो समय योगदान गरेका हरिवंश मह चौतारी कार्यक्रममार्फत चर्चा कमाउन सफल भए।

मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य मिलेर स्थापना गरेको यो जोडीको ४० वर्षे सहयात्रा पूरा भइसकेको छ। जस्तोसुकै अभिनयमा पनि सुहाउने चरित्रको भूमिका गर्न सक्नु आचार्यको प्रमुख खुबी हो। सामाजिक सचेतना फैलाउने टेलिसिरियल देखि स्टेज कार्यक्रम तथा फिल्ममा समेत उनी छाएका छन्। हास्यव्यंग्य क्षेत्रमा काम गर्दै आइरहेको रेडियो अडियोले आचार्यको जन्मदिनका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको थियो।

बानेश्वरस्थित माइती क्याफेमा आयोजित कार्यक्रममा हास्यव्यंग्य क्षेत्रका कलाकार, गायक संगीतकार, अभिनेता, अभिनेत्रीको सहभागिता थियो। आचार्यलाई जन्मदिनका अवसरमा शुभकामना व्यक्त गर्दै कलाकार मदनकृष्ण श्रेष्ठले हरिवंशको साथले मात्रै आफू कलाका रितामा सफल हुन सकेको बताए। यसका साथै मह जोडीको ४० वर्षे सहयात्रामा अनेक चुनौती र खुसीका पलसँग बिताएको अनुभव सुनाउँदै आचार्यलाई स्वास्थ्य र दीर्घ जीवनको कामना व्यक्त गरे।

कार्यक्रममा शुभकामना प्रदान गर्नेलाई धन्यवाद व्यक्त गर्दै हरिवंशले आफूलाई कलाकारितामा सफल बनाउने सम्पूर्ण दर्शक प्रति आभार व्यक्त गरे। केही समयअघि ‘बूढो हुने मन छैन’ बोलको गीत सार्वजनिक गरेका आचार्यले हास्य व्यंग्यका क्षेत्रमा अझ धेरै काम गर्ने रहर बाँकी रहेकाले पनि बूढो हुन मन नलागेको स्पष्टीकरण दिए। उनले जोडीको सहकार्य ४० वर्ष मात्रै नभएर आफ्नो ४० र मदनकृष्णको ४० जोडेर ८० वर्ष पुगेको बताए।

आफूले कलाकारिता सुरु गर्दा हास्यव्यंग्य विधा नै अस्पष्ट रहेको अवस्था सुनाउँदै अहिलेका कलाकारले यही विधा अपनाएर राम्रो जिन्दगी बाँच्नसक्ने अवस्था बनिसकेकोमा खुसी व्यक्त गरे । हरिवंशले मह संचार र मह जोडीको बिषयमा कुनै न कुनै व्यक्तिलाई लेख्न करै लाग्ने दाबी समेत गरे । यस्तै, मह जोडीका ‘म’ अर्थात मदनकृष्ण श्रेष्ठले आफू र हरिवंशको मित्रता एउटा इतिहास भएको बताए ।

उनले भने–‘मेरो र हरिवंशको मित्रतालाई अब कसैले पनि छुटाउन सक्दैन । अब, जती बर्ष यो मित्रता रहन्छ एउटा इतिहास बनेर रहन्छ ।’ कार्यक्रममा आचार्यलाई शुभकामना व्यक्त गर्न लोकगायक प्रेमराजा महत, किरण केसी, दीपक राज गिरी, दीपाश्री निरौ ला, आचार्यपत्नी रमिला आचार्य, छोरा मोहित आचार्य, राजाराम पौडेल, केदार घिमिरे, कुञ्जना घिमिरे, उत्तम सञ्जेल, निर्मल शर्मा, आँचल शर्मालगायतका कलाकारको उपस्थिति थियो।

Loading...
प्रकाशित मिति २८ कार्तिक २०७६, बिहीबार ००:१२