म खुशी  छु  जिन्दगीमा  सबै  गुमाएर  पनि

टुटाएर  वाचा – बन्धन  धोका  नदिनु।

दुखाएर  कसैको  मन  धोका  नदिनु।

_____________

कि त चित्त दुख्यो प्रिय  किन मौन छौ,

पर्खेकी  छु   एकैवचन  धोका  नदिनु।

____________

जून जस्तै मुस्कुराउँथेँ ताराहरू बिचमा,

शून्य  लाग्छ  धर्ती, गगन  धोका नदिनु।

________________

हिजो सँगसँगै अनि आज एक्लाएक्लै,

दुनियाँले  कुरा  काट्छन् धोका नदिनु।

___________________

एक बिमार  दिलको  छु  अर्को यादको,

नाजुक बन्छ अवस्था झन् धोका नदिनु।

[२]

गजल

म खुशी  छु  जिन्दगीमा  सबै  गुमाएर  पनि।

मान्छेहरू दु:खी भए हरेक चीज पाएर पनि।

__________

हिजो तिम्रो  मुटुमा बास बसेको छु भन्नेहरू,

आज नबोलेर हिँड्छन् आँखा जुधाएर पनि।

___________

तिम्रो अहम् तिम्रै  लागि  हानिकारक भएको छ,

म उही ठाउँमा तटस्थ छु यो शिर झुकाएर पनि।

_________________

दुश्मनसँग लड्दा-लड्दै  यदि बाजि हारेँ भने,

जिउँदो साबित गरुँला म यी हात उठाएर पनि।

_________________

केही समय भएपनि देशको लागि जिउन देऊ,

पर्दिनँ  म  तिम्रो  वशमा  लगाम लगाएर पनि।

लेखक : अदिती अर्याल ज्ञवाली 

             काठमाडौं

Loading...
प्रकाशित मिति २९ कार्तिक २०७६, शुक्रबार १४:२२