गायिका आस्था राउतको ‘आधार–२’ सार्वजनिक

गायिका आस्था राउतको दोस्रो गिती एल्बम ‘आधार–२’ सार्वजनिक भएको छ। म्युजिक नेपालले आज आयोजना गरेको कार्यक्रममा कलाकारहरु मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले संयुक्तरूपमा सो एल्बम सार्वजनिक गरेकी हुन्।

कलाकारद्वय श्रेष्ठ र आचार्यले गायिका आस्थाको स्वरमा आफ्नै छुट्टै मौलिकपना रहेको र नेपाली सङ्गीतको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको उल्लेख गर्दै आगामी दिनमा सफलताको शुभकामना व्यक्त गरे।  गायिका राउतका पिता लोकगायक हरिबहादुर राउत र आमा गीत रचनाकार सावित्री राउतले आफ्नो छोरीको सफलताप्रति खुसी व्यक्त गरे।

गायिका राउतले आफूलाई महजोडीबाटै आधार–२ सार्वजनिक गर्ने तीव्र इच्छा रहेको हुँदा सो सपना पूरा भएको सुनाउँदै तीन वर्षको अथक प्रयासले नेपाली माझ उक्त एल्बम आएको बताए। उनले गीतको शब्द नै मेरुदण्ड भएको हुनाले आफूले गाए जति गीत सकेसम्म राम्रो गर्ने प्रयत्नमा रहेको उल्लेख गर्दै आफ्नो साङ्गीतिक जीवनका लागि वरिष्ठ सङ्गीतकार सुरेश अधिकारीप्रति आभार व्यक्त गरे ।

म्युजिक नेपालले बजारमा ल्याएको र वरिष्ठ सङ्गीतकार सुरेश अधिकारीले सङ्गीत गर्नुभएको उक्त एल्बममा सात वटा गीतहरु समेटिएका छन्। एल्बममा ‘के छ यहाँ’, ‘नाकैमा फुली’, ‘झलझल गर्ने कम्पनी माला’, ‘राम सायली’, ‘सिमाना’, ‘हवाइजहाजको टिकट’ र ‘दशैँ आयो, तिहार आयो’ रहेका छन्।

यसअघि गायिका राउतको ‘आधार’ सार्वजनिक भएको थियो। त्यसमा सात वटा गीतहरु रहेका थिए। त्यसमा पनि ‘खै त मलाई झुम्के बुलाकी’ र ‘चौबन्दीमा पटुकी’ स्रोतामाझ निकै चर्चित बन्न सफल भएको  थियो।-

Loading...
प्रकाशित मिति November 28, 2019