रुकुममा जिप दुर्घटना हुँदा एकको मृत्यु, ९ जना घाइते

मङ्सिर १३, रुकुमपुर्व । रुकुमपूर्वमा जिप दुर्घटना हुँदा एक वालकको घटना स्थलमै मृत्यु भएको छ । दुर्घटनामा ९ जना घाइते भएका छन् ।

रुकुमपश्चिम खलंगादेखि रुकुमपूर्व पुथा उत्तरगंगा गाउँपालिका कोल, राङ्सीको लागि छुटेको रा १ ज ४४४ नम्बरको जिप भूमे गाउँपालिका–३ को मध्यपहाडी लोकमार्ग जितखोला नजिक रुपचा भन्ने ठाउँमा दुर्घटना हुँदा भूमे गाउँपालिका–२ खाबाङ बगरका ३ वर्षीय नसिप पुनको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए ।

घाइते हुनेहरूमा सिस्ने गाउँपालिका–७ सान्चौरका ३१ वर्षीया सुनिता बुढा, भूमे–३ का ४० वर्षीया मनकुमारी पुन, पुथा–१२ कोलका १८ वर्षीया शान्ति सुनाम, सोही ठाउँकै ३० वषीया नन्दा पुन त्यसैगरी ३२ वर्षीया लक्ष्मी पुन, ५२ वर्षीय पूर्णसिंह पुन, ३७ वर्षीय लोकेन्द्र पुन, २५ वर्षीय विरोध पुन र भूमे–२ खाबाङ बगरका ३३ वर्षीया कुमारी पुन रहेकी छन् ।

‘सडक बाटोमै जिप ढलेर चार मिटर घिसिरेको छ’ डिएसपी खड्काले भने–‘जिप चालक भूमे–७ गुनामका ३९ वर्षीय मुलमान बिक र जिप साहुँलाई पनि सामान्य चोटपटक लागेकोले ९ जना यात्रुसँगै जिल्ला अस्पताल रुकुमकोटमा उपचार भइरहेको छ ।’

चार जनाको अवस्था गम्भीर रहेको छ भने पाँच जनाको अवस्था सामान्य नै रहेको अस्पतालले जनाएको छ । चालक र जिप साहुँलाई निरन्त्रणमा लिइ दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

– फाइल फोटो

Loading...
प्रकाशित मिति November 29, 2019