विमल घर्ती मगरलाई ५० हजार जरिवाना

काठमाडौँ / अखिल नेपाल फुटबल संघ एन्फाले अनुशासन विपरित गतिविधि गरेको भन्दै राष्ट्रिय टीमबाट हटाइएका विमल घर्ती मगर र दिनेश राजवंशीलाई ९० दिन र बाँकी दुई जनालाई ४५ दिन निलम्बन गरेको छ। निलम्बन नोभेम्बर १३ देखि लागू हुनेछ।

विश्वकप छनोटको कुवेतविरुद्ध हुने खेलका लागि भुटान जानुअघि विमल र दिनेशसहित अञ्जन विष्ट र सन्तोष तामाङ नाइट क्लब गएको पाइएपछि उनीहरु चारै जनालाई टोलीबाट हटाइएको थियो।

गत नोभेम्बर १६ तारिखमा एन्फाले घटनाको छानबिन गरी आवश्यक कारबाही गर्न अनुशासन कमिटीलाई निर्देशन दिएको थियो।

चारै जना खेलाडीलाई जनही ५० हजार रुपैयाँ जरिवाना पनि गरिएको छ।

प्रकाशित मिति २७ मंसिर २०७६, शुक्रबार १४:५२