एउटै बोटमा २७ हजारको सुन्तला..

बागलुङ / यो त्यही सुन्तलाको बोट हो, जसलाई टोपबहादुर खड्काले ३९ वर्षअघि रोप्नुभएको थियो । चार दिन लगाएर गुल्मी, भाडगाउँबाट ल्याएको बोटमा योपालि ४५० किलो सुन्तला फल्यो । गाउँमा चलेको मूल्य अनुसार त्यही एउटै बोटले रु २७ हजार कमाइ दियो ।

बजारसम्म आइपुग्दा सुन्तलाको मूल्य अझ बढ्छ । बगैँचाबाटै किन्दा भने प्रतिकिलो रु ५० देखि ६० सम्म पर्छ । “तीन–चार रोपनीको अन्नबालीलाई एउटै बोटको सुन्तलाले जित्यो”, बागलुङ नगरपालिका–८ सिगानाका खड्काले भन्नुभयो, “यो वर्ष ३० प्रतिशतभन्दा बढीले सुन्तला उत्पादन बढेको अनुमान छ ।”

दुई वर्षअघि सोही बोटमा जम्मा ३०० किलो सुन्तला फलेको उहाँको भनाइ छ । “सुन्तला बाक्लो फल्यो, टेकै लगाएर अडाउनुप¥यो, केही बोटका त हाँगै भाँचिए”, खड्काले रासससँग भन्नुभयो, “मौसम राम्रो प¥यो, पानी, मल व्यवस्थापन र रेखदेखमा पनि ध्यान दियौँ ।”

खड्काले विसं २०३७ मा १०० बिरुवाबाट व्यावसायिक सुन्तलाखेती शुरु गर्नुभएको थियो । उहाँको बगानमा अहिले नयाँ पुराना गरी २०० सुन्तलाका बोट छन् । सबै बोटमा गरी यो वर्ष चार टन सुन्तला फलेको खड्काले बताउनुभयो । उहाँका अनुसार सुन्तलाबाट वार्षिक पाँच लाखसम्म कमाइ हुन्छ ।

खड्काले ‘सेलर स्टोर’ मा भण्डारण गरी पछिसम्म सुन्तला बेच्नुहुन्छ । त्यही सुन्तला माघ, फागुनमा बेच्दा प्रतिकिलो रु १०० सम्म पर्छ । ३९ वर्षअघि सुन्तलाखेती गर्ने गाउँकै एक्लो किसान हुनुहुन्थ्यो, खड्का । अन्नबाली छाडेर सुन्तला लगाउँदा कतिले त उहाँको खिस्सी पनि गरे । सुन्तलाले व्यावसायिक सफलता दिलाउला भनेर कमैले सोचेका थिए तर, अहिले खड्का एक्लो हुनुहुन्न ।

Loading...
प्रकाशित मिति २ पुष २०७६, बुधबार ०८:५७