no-image

मकवानपुर – मकवानपुरमा २०७२ को भूकम्पले पूर्ण क्षति भएका ३४ हजार ३ सय १९ घरमध्ये १४ हजार १ सय ३५ घर मात्र निर्माण पूरा भएका छनु । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) कार्यालयको आयोजनामा आज हेटौँडामा भएको अन्तर्क्रियामा यसबारे जानकारी दिइएको हो ।

 

जिल्लामा पहिचान भएका कुल लाभग्राही ३४ हजार ३ सय १९ मध्ये २९ हजार ५ सय ५ जनाले मात्र पुनर्निर्माणका लागि सम्झौता गरी प्रथम किस्ता लगेका थिए । त्यस्तै प्रथम किस्ता लिनेमध्ये २३ हजार ४३१ ले दोस्रो किस्ता र १८ हजार ४ सय ३ जनाले तेस्रो किस्ता लगेका थिए । तेस्रो किस्ता लगेर निर्माणसमेत सम्पन्न गर्नेको संख्या १४ हजार १ सय ३५ रहेको आयोजना प्रमुख विमलकिशोर केपीले जानकारी दिए ।

उनका अनुसार प्रबलीकरणमा भने मकवानपुरको प्रगति शून्य प्रायः छ । जिल्लामा आंशिक क्षति भएर प्रबलीकरण गर्नुपर्ने घरमध्ये ०।०४ प्रतिशतमात्रै घर प्रबलीकरण भएका छन् । मकवानपुरमा प्रबलीकरणका लागि छनोट भएका लाभग्राही १२ हजार ९ सय ४६ मध्ये ७ हजार ९ सय ७० ले मात्र प्रबलीकरणका लागि सम्झौता गरेको र प्रथम किस्ता लिएकामा जम्मा ३ जनाले मात्र प्रबलीकरण गरी दोस्रो तथा अन्तिम किस्ता बुझेको आयोजना प्रमुख केपीले जानकारी दिए ।

उनका अनुसार मकवानपुरमा २ हजार ७ सय १९ घर भने मापदण्डविपरीत बनेका छन् । त्यस्तै जिल्लामा भूकम्पमा परी पूर्ण क्षति भएको तर ऐलानी मात्र जग्गा भएका भूमिहीन लाभग्राही संख्या ३ हजार ६ सय ७२ पहिचान भएको, तीमध्ये २९ जनाले अन्यत्र जग्गा किनेर पुनर्निर्माण प्रक्रिया प्रारम्भ गरेको र बाँकीले आफ्नै ऐलानी जग्गामा पुनर्निर्माण प्रक्रिया सुरु गरेको आयोजना प्रमुख केपीले जानकारी दिए । त्यस्तै जिल्लाका २८ लाभग्राहीले आफूले लिइसकेको किस्तासमेत फिर्ता गरेका छन् ।

मकवानपुरमा विद्यालय निर्माणको क्षेत्रमा भने उल्लेख्य प्रगति भएको जनाइएको छ । जिल्ला आयोजना कार्यान्वयन एकाइ शिक्षाका प्रमुख बद्रीबहादुर पाठकका अनुसार जिल्लामा रहेका ५ सय १६ विद्यालयमध्ये भूकम्पका कारण ४ सय ९ विद्यालयका २ हजार ३ सय १० कक्षाकोठा पूर्ण क्षति भएका थिए । त्यस्तै १ हजार ४ सय ५४ कक्षाकोठा आंशिक रूपमा क्षति भएका थिए ।

जिल्लामा आपत्कालीन विद्यालय पुनर्निर्माण आयोजनाअन्तर्गत रहेर ठेक्का प्रक्रिया, विद्यालय व्यवस्थापन समितिमार्फत र विभिन्न संघ–संस्थाहरुमार्फत गरी ३ प्रक्रियामा विद्यालय भवन पुनर्निर्माण भइरहेको प्रमुख पाठकले बताए । -रासस

Loading...
प्रकाशित मिति ६ पुष २०७६, आईतवार १०:२०