खोटाङ बहानेपोखरीमा महोत्सव हुँदै

खोटाङ / पर्यटन प्रवद्र्धनका लागि खोटाङको ऐसेलुखर्क गाउँपालिकाले बहानेपोखरी महोत्सवको तयारी गरेको छ । ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेलमा रहेको बहानेपोखरीको प्रचार–प्रसार गर्दै आन्तरिक पर्यटन प्रवद्र्धनका लागि महोत्सवको तयारी गरिएको गाउँपालिका अध्यक्ष विश्वनाथ निरौलाले बताए ।

अग्लो डाँडामा रहेको तथा बाह्रैमास पानी भरिने र कहिल्यै नसुक्ने २ सय मिटर क्षेत्रफलमा फैलिएको बहानेपोखरीमा आगामी फागुन १३ गतेदेखि १५ गतेसम्म महोत्सव गर्न लागिएको गाउँपालिकाले जनाएको छ । महोत्सवका लागि गृहबहादुर राईको संयोजकत्वामा २१ सदस्यीय महोत्सव आयोजक समिति गठन गरिएको छ । महोत्सवलाई बृहत बनाउनका लागि छिमेकी गाउँपालिकाका वडाहरुबाट पनि थप सदस्यय थपिने गाउँपालिकाले जनाएको छ ।

तीन दिने महोत्सवमा अर्गानिक कृषि उपज प्रदर्शनी, खानाका परिकार, विभिन्न जातजातीको साँस्कृतिक झाँकी, साँस्कृतिक कार्यक्रम, खेलकुद लगायतका कार्यक्रम हुनेछन् । पर्यटनको सम्भावना रहेपनि हालसम्म ओझेलमा रहेको बहानेपोखरीबाट जिल्लाका अधिकांश स्थान, छिमेकी जिल्लादेखि हिमश्रृंखला अवलोकन गर्न सकिन्छ । पूर्वतर्फ शंख ढुंगा, नाग ढुंगा, स्तुपा र सोभन्दा केही माथि विविध आकृतिका संरचनाहरु रहेको बहानेपोखरीमा जनै पूर्णिमा, मंसिर पूर्णिमाका बेला धामी झाँक्री सहितका दर्शनार्थीहरुको बाक्लो उपस्थिती रहने गरेको अध्यक्ष निरौलाले बताए ।

बहानेपोखरीका आसपासमा चौरी गाई र भेडा पालन र चरण भएकाले पनि आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षक गर्न सकिने महोत्सव आयोजक समितिले जनाएको छ । ओझेलमा रहेको बहानेपोखरीमा नयाँ वर्ष लगायतका अवशरमा स्थानीयको बाक्लो भीड लाग्ने गरेको छ ।

Loading...
प्रकाशित मिति ७ पुष २०७६, सोमबार ०१:३१