चलचित्र ‘परदेशी २’ मा हिरो बन्दै प्रकाश सपूत , हिरोईन को हुन् ?

चर्चित निर्देशक तथा गायक नारायण रायमाझी निर्देशित २०७२ सालको सुपरहिट चलचित्र ‘परदेशी’ को सिक्वेलमा चर्चित लोक गायक प्रकाश सपुतले हिरोको रुपमा अनुबन्ध भएका छन् ।

प्राप्त जानकारी अनुसार, निर्देशक रायमाझीले केही दिन अगाडि गायक सपुतसँग चलचित्रका लागि कागजी सम्झौता गरिसकेका छन् । यद्यपि, निर्माण टिमले यो विषयमा कुनै जानकारी दिएको छैन ।

‘बोल माया’ बोलको गीतबाट चर्चामा आएका गायक सपुत बाल्यकालदेखि नै हिरो बन्न चाहन्थे । उनी काठमाडौं पनि गायक नभइ हिरो बन्न आएका थिए । अब, उनको हिरो बन्ने सपना चलचित्र ‘परदेशी २’ बाट पूरा हुने भएको छ । रोजगारीको शिलशिलामा परदेश गएका युवाहरुको कथाव्यथामा निर्माण हुने चलचित्रको छायांकन फागुनबाट सुरु हुनेछ ।

चलचित्रमा गायक सपुतलाई अभिनेताको रुपमा अनुबन्ध गरेपछि निर्देशक नारायण रायमाझी अब अभिनेत्रीको खोजीमा लागेका छन् । ‘परदेशी’ को अघिल्लो श्रृंखलामा गायक तथा अभिनेता प्रशान्त तामाङ प्रमुख भूमिकामा थिए ।

सिक्वेलमा भने उनलाई गायक सपुतले रिप्लेस गरेका छन् । ‘परदेशी’ भन्दा अगाडि प्रशान्तलाई लिएर निर्देशक रायमाझीले ‘गोर्खा पल्टन’ बनाएका थिए ।

Loading...
प्रकाशित मिति १३ पुष २०७६, आईतवार १४:५९