पाल्पामा ‘मगर खाना महोत्सव’ हुँदै

पाल्पा / पाल्पाको तानसेनमा मगरी सांस्कृतिक तथा खाना महोत्सव हुने भएको छ । यही पौष २५ गते शुक्रबार तानसेनमा मगर समुदायमा प्रचलित खाना सहित सांस्कृतिक महोत्सवको आयोजना गरिने भएको हो।

नेपाल मगर संघले पत्रकार सम्मेलन गरेर मगर समुदायको पहिचान र संस्कृति झल्कने परम्परागत नृत्य तथा मगर समुदायका प्रचलित खानाको स्टल राखेर महोत्सव गर्न लागेको जानकारी दिएको छ ।

मगर समुदायमा परम्परादेखि नाच्दै आएका सोरठी, घाटु, झाम्रे, कौडा, जीवैमामा नाच लोप हुदैँ गएको भन्दै संस्कृति जर्गेना गर्न सांस्कृतिक प्रदर्शन सहित खाना महोत्सव गर्न लागिएको मगर संघका अध्यक्ष तेजबहादुर घर्तीमगरले जानकारी दिए । महोत्सवमा बारा (बटुक), मगरी प्रचलनमा रहेका विभिन्न प्रकारका अचार, चुकाउनी, बंगुरको मासुबाट बनाइएका परिकार, वन तरुल, गन्जीको समेत स्वाद चाख्न पाइने आयोजकले जनाएको छ ।

महोत्सवमा पहिचान र संस्कृति झल्कने खालका नाच, गीत प्रस्तुती हुने मगर समुदायका अगुवा एवं नेपाल आदिवासी जनजाति महासंघ पाल्पाका अध्यक्ष केहरसिंह रानाले जानकारी दिए । महोत्सवमा सम्पूर्ण स्टलहरु मगरी नै रहने र १५ देखि २५ स्टलहरू हुने छ ।

Loading...
प्रकाशित मिति १५ पुष २०७६, मंगलवार ०६:४४