‘एउटा यस्तो प्रेम कहानी’……

काठमाडौं / शिव श्रेष्ठले डेढ वर्ष अगाडि चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ को घोषणासँगै टीजर सार्वजनिक गरेका थिए । यो चलचित्रको कथा आफेंले लेखेका थिए ।

चलचित्रमा उनी प्रस्तुतकर्ता र दिनेश दर्शनधारी र यशोधा राई निर्माताको रुपमा छन् । चलचित्रबाट अभिनेत्री करिश्मा मानन्धरकी छोरी कविता र शिवका छोरा शक्तिले डेब्यू गर्दै थिए

शिव श्रेष्ठ, प्रियंका कार्की, वर्षा राउत, संजोग कोइराला, मिथिला शर्मा, नरेन खड्का, किरण केसी, आयुष्मान देशराज जोशीलगायतका कलाकारहरुको पनि चलचित्रमा अभिनय छ । दीपेश सापकोटा निर्देशित चलचित्रको छायांकन लगभग सकिसकेको छ ।

तर, चलचित्र पोष्ट प्रोडक्सनमा अल्झिएको छ । निर्देशक सापकोटा स्वयंलाई पनि चलचित्र प्रदर्शन हुन्छ वा हुँदैन भन्ने थाहा छैन ।

के ‘एउटा यस्तो प्रेम कहानी’ दर्शकले हेर्न पाउँदैनन् ? निर्माता दर्शनधारीले अर्को वर्षभित्र चलचित्र प्रदर्शन हुने बताए । फोनर्वार्तामा उनले भने, ‘अहिले चलचित्रको पोष्ट प्रोडक्सनमा काम भैरहेको छ ।

चलचित्रको एकसाथ दुईवटा श्रृंखला खिच्नु पर्ने भएकाले प्रदर्शनमा आउन ढिलाई भएको हो । अर्को वर्ष चलचित्रको पहिलो पार्ट प्रदर्शनमा ल्याउने तयारी गरिरहेका छौं ।’

छायांकन सुरु भएपछि चलचित्रमा कविता र शक्ति भित्रिएका थिए । उनीहरुको प्रवेश भएपछि कथामा केही परिवर्तन गर्नु परेका कारण पनि चलचित्र निर्माणमा समय लागेको निर्माता दर्शनधारीको भनाई छ ।

निर्माताबीचको असमझदारीका कारण चलचित्र अड्किएको त होइन ? भन्ने प्रश्नमा उनले भने, ‘त्यस्तो केही होइन । हामीबीच चलचित्र प्रदर्शन गर्ने विषयमा छलफल भैरहेको छ ।’

अभिनेत्री करिश्मा आफ्नी छोरीलाई होम प्रोडक्सनको चलचित्रबाट डेब्यू गर्ने तयारीमा थिइन् । तर, अभिनेता शिवको आग्रहपछि ‘एउटा यस्तो प्रेम कहानी’ बाट उनी छोरीलाई डेब्यू गराउन तयार भएकी थिइन् ।

तर, यो चलचित्र रिलिज नुहँदा करिश्मा र कविता दुवै निराश छन् । उता, शिवका छोरा शक्तिले भने डेब्यू चलचित्र प्रदर्शन नभएपछि ‘लप्पन छप्पन २’ मा काम गरिसकेका छन् ।

Loading...
प्रकाशित मिति २१ पुष २०७६, सोमबार १७:५८