प्रिती आलेले दिइन् लोक तथा दोहोरी गीत प्रतिष्ठानबाट राजीनामा

काठमाडौं / पछिल्लो समय गायिका प्रिती आलेले बजारमा ल्याएको भुत्रो मायाजाल बोलको गीतले सांगितीक बजार तताएको छ । गीतमा भुत्रो शब्दको प्रयोगले दुई थरिको अर्थ दिने भन्दै पक्ष र विपक्षमा सामाजिक सञ्जालदेखि लिएर सांगितीक बजारमा दोहोरी नै चलिरहेको छ ।

एकथरि यो शब्दलाई सामान्य भनेका छन्, भने अर्को थरी दोहोरीमा यस्ता शब्दको प्रयोग छाडापन भएको भन्दै प्रतिक्रिया दिएका छन् ।

यसैविषयलाई लिएर गायिका प्रिती आलेले लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समिती सदस्य एवं महिला संयोजक पदबाट राजीनामा दिनुभएको छ ।

आफूसँगै संस्थालाई पनि जोडेर अनेक खालका टिकाटिप्पणी भएको भन्दै एक विज्ञप्ती निकाल्दै संस्थाबाट राजीनामा दिएको घोषणा गर्नुभएको हो ।

यस्तो छ उनको विज्ञप्ती

श्रीमान अध्यक्ष महोदय राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समिती ।

हाम्रो संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल चौतर्फी प्रहारको चपेटामा परेको छ । प्रतिष्ठान भित्र लगभग पचासौँ हजार कलाकार आवद्द हुनुहुन्छ र हरेक कलाकारको आफ्नै आफ्नै सोच,आफ्नै आफ्नै सृजनसिलता र आफ्नै आफ्नै तौर तरिकाहरु रहेका हुन्छन । त्यसमाथी हाम्रो भौगोलीक विविधता यती ब्यापक र फराकीलो छ की हरेक दश बिस किलोमिटर कटेपछी प्रयोग गरिने शब्दको फरक अर्थ लाग्न सक्छ ।

ब्यक्ती पिच्छे फरक दृष्टिकोण भएको समाजमा ‘भुत्रो’ शब्द को अर्थ अर्थ्याउने कसले ? यो गम्भिर प्रश्न हुन सक्छ । हामी संग श्लिल-अस्लिल छुट्याउने कुनै मेकानिजम छ र त्यो कसीमा जाँच्दा गीत अश्लिल ठहरीएमा कलाकारले गल्तीबोध गर्नु कुनै ठुलो कुरा होईन । तर संस्था या सरकारमा समेत त्यो मेकानिजम छैन भने सृजनाको या साहित्यको विश्लेषण गरेर त्यसलाई अश्लिल ठहर गर्ने निकाय खोई कुन छ ? केवल कलाकारको विवेक या श्रोताको हृदय वाहेक कुनै उपायले कुनै सृजनाको मुल्यांकन गर्न सकिंदैन ।

सामाजिक सन्जालमा कसैले भुत्रोको अर्थ ‘गुप्ताङ्गका रौ’ लेख्दियो । त्यो शब्दको अर्थ त्यो लेख्ने मान्छेले जती बुझ्यो त्यत्ती मात्रै हो त ? या फरक अर्थ पनि राख्छ त्यो शब्दले ? मान्छेहरु फरक अर्थ खोज्न तर्फ लागेनन-बस सामाजिक सञ्जालमा राम्रो परिचय बनाईसक्नुभएका विद्वान आलोचक ज्यु हरु समेत उक्त शब्दको सबैभन्दा पछाडीको र विवादित हुनसक्ने अर्थ जुन थियो उसैको पछी लागेर कुदिरहनुभयो ब्यक्तिगत प्रहार र गाली गलौच गरिरहनुभयो…!

भुत्रो को अर्थ ‘गुप्ताङ्गका रौ’ मात्र होईन, तुच्छ,हल्का, बेवास्ताको, फुस्सा या यत्रो.. यि सबै अर्थ भुत्रोले दिन्छ र यो निन्दार्थी शब्द हो, कसैको निन्दा, कुनै कृयाको प्रतिकृया जनाउनुपर्दाको असहमती या आफ्नो विमती ब्यक्त गर्नुपर्दा सजिलै प्रयोग हुने शब्द समेत हो भुत्रो तर गीतमा कुन भावले प्रयोग गरियो त्यो सर्जकले सबैभन्दा पहिले बुझेको हुन्छ ।

भुत्रो शब्दको प्रयोग गरेर मैले आफ्नो मायाजाल लाई ‘फुस्सा मायाजाल’ भन्न खोजेको पो होकी ? हलुको या जतिबेला पनि उड्न टुट्न सक्ने मायाजाल भनेर अर्थ्याउन खोजेको पो हो की ? कुनैपनि आलोचक ज्यु हरुले त्यो शब्दको फरक अर्थ खोज्न प्रयास गरेको कतै देखीएन । त्यो शब्दको यौटै मात्र अर्थ लाग्ने हो र? अरु अर्थ छैन र? किन फरक मानसिकता राखेर गीत सुन्ने बुझ्ने चेष्टा गर्नुहुन्न आलोचक हरुले यो प्रश्न भने निरुत्तरीत नै छ ।

गीतमा निन्दार्थी शब्दको विम्बात्मक प्रयोगलाई कुनै कानुनले रोकेको छ र ? रोकेको जस्तो मलाई आज सम्मको अध्ययनले लाग्दैन । मेरो अध्ययन कमजोर पनि हुन सक्छ। यसर्थ फरक फरक विधामा कलाकारीता प्रस्तुत गर्ने कोशिस गर्दा या सामान्य भाषामा पप गीत सृजना गर्ने प्रयास गर्दा सृजीत गीतलाई लिएर जुन विवाद उब्जिएको छ त्यसलाई टुंगोमा पुर्याउनु या विवाद साम्य बनाउनु मेरो पनि कर्तव्य हो भन्ने मलाई लाग्दछ । लोकगीत या दोहोरी गीत गाउदा म कहिल्यै पनि संस्थाको आस्था विपरित गएर रेकर्ड गराएकी थिईन ।

प्रत्यक्ष दोहोरी तर्फ कथंकदाचित द्विअर्थी विम्बहरु प्रयोग भए होलान त्यसलाई हामीहरु सधैँ दोहोरीको सुन्दरता भनेर बुझ्ने गर्दछौँ । तर पप गीत गाउदा मैले या मेरो सृजनाले संस्थाको मर्यादा कायम राख्न नसकेको या संस्थाको भावना विपरित भएको हो भने त्यो कुराको गल्तीबोध मैले गर्नै पर्दछ।

म सँस्थामा आवद्द भएकै कारण सँस्थालाई अनावस्यक आरोप आउनु म आफु फरक विधा मार्फत कलाकारीतामा सकृय रहन असहज महसुस महसुस हुदै जानु र मेरो सृजनाको कारण सँस्था अनावस्यक विवादमा मुछीन पर्नु पनि अफ्ट्यारो परिस्थिती नै हो । सँस्था बाहिरै रहेर पनि म सम्मानित सँस्था प्रतिको जिम्मेवारी वहन गर्न सदैव तयार रहनेछु।

यस घटनाले मलाई नयाँ शिक्षा दिएको छ । तसर्थ मेरो ब्यक्तीगत कलाकारीताको कारण सम्मानित संस्थामा कुनै आँच नआओस भन्नेकुरामा म सजग छु त्यसै कारणले पनि मेरो सृजना संस्थाको भावना अनुरुप हुन नसकेको मा पुन: क्षमा याचना गर्दै आजैका मितीदेखी लागु हुने गरी मैले म आवद्द राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समिती सदस्य एवं महिला विभाग संयोजक को पदबाट राजिनामा गरेकी छु ।

प्रिती आले ।

गायिका लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समिती सदस्य एवं महिला संयोजक ।

Loading...
प्रकाशित मिति २२ पुष २०७६, मंगलवार ०१:४२