‘माया नमार २’ बाट रमितका छोराले डेब्यु गर्ने

काठमाडौं / अभिनेता रमित ढुङ्गानाले चलचित्र  ‘माया नमार’ बाट नेपाली फिल्ममा डेब्यु गरेका थिए । सन् २००२ मा प्रदर्शनमा आएको मदन घिमिरे निर्देशित चलचित्रको दोस्रो भाग बन्ने भएको छ ।

जसमा अभिनेता रमितका छोरालाई डेब्यु गराइने भएको छ । आइतबार रमितले आफ्नो जन्मदिन मनाउने क्रममा उनले यो कुरा बाहिर ल्याएका हुन् । तर उनले योसँगै चलचित्र निर्माण हुन भने अझै ४ देखि ५ वर्ष लाग्ने पनि बताएका छन् ।

अमेरिकामा रहेर इन्जिनियरिङ विषयमा अध्ययन गरिरहेका उनले अभिनय गर्ने इच्छा देखाएपछि ‘माया नमार २’ बाट डेब्यू गराउने तयारी गरेको रमितले बताएका छन् । उनले यसमा आफ्नो कुनै किसिमको दबाब नरहेको बरु छोरा ओजस्वीले नै अभिनयमा इच्छा देखाएको थपेका छन् ।

रमितका दाइ अमित ढुङ्गानाले निर्माण गरेका थिए जसमा उनको पनि अभिनय रहेको थियो । चलचित्रमा अमितले आफ्नो छोरा अमिरलाई डेब्यू गराउन चाहन्थे तर अमिरले इच्छा नदेखाए पछि रमितका छोरालाई डेब्यू गराउन लागिएको हो । रमितका छोराले चलचित्रको लागी तौल घटाउन सुरु गरिसकेको बताइएको छ ।

बाबुको जन्मदिन मनाउँदै गर्दा भेटिएका उनले आफूलाई सानै देखी अभिनयमा रुचि भएको र अहिले आएर त्यो सपना पुरा हुन लागेको बताएका छन् । साथै  उनले अमेरिकाबाट ४ वर्षमा आफू अभिनेता बन्न योग्य भएर फर्किने बताएका छन् ।

Loading...
प्रकाशित मिति २८ पुष २०७६, सोमबार १३:१४