काठमाडौंमा अहिलेसम्मकै बाक्लो हुस्सु, चिसोले जनजीवन प्रभावित

काठमाडाैँ, ४ माघ / शनिबार बिहानै काठमाडौं उपत्यकामा बाक्लो हुस्सु लागेको छ । शुक्रबार र बिहीबार अविरल झरी परेकाे थियाे । झरी थामिएपछि जमिनबाट बाफ निस्केर यहाँकाे वायुमण्डल गुम्म परेकाे छ ।

एकाबिहानैदेखि काठमाडाैँमा करिब १०० मिटर परकाे बत्ती पनि नदेखिने अवस्था छ, हुस्सुले गर्दा । करिव २० मिटर परकाे वस्तु पनि मुस्किलले देख्न सकिएकाे छ । काठमाडाैँ उपत्यकामा मात्र पछिल्लाे २४ घण्टामा ४८ मिलिमिटर वर्षा भएकाे छ ।

काठमाडौं उपत्यका लगायत तराई क्षेत्र र देशका अन्य भूभागमा पनि बाक्लाे हुस्सु लागेकाे जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ । २ दिन देशैभरिकाे मौसम बदली भएर वर्षा र हिमपात भएको थियो ।

नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव विस्तारै कम भई मौसममा क्रमिक रुपमा सुधार हुँदै गईहेको माैसम पूर्वानुमान महाशाखाकाे भनाइ छ । महाशाखाका अनुसार शनिबार पनि देशभरकाे माैसममा आंशिकदेखि सामान्य बदली भई १-२ स्थानहरुमा वर्षा/हिमपात भईरहेको छ ।

दिउँसाे पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । पहाडी तथा तराई भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।

Loading...
प्रकाशित मिति ४ माघ २०७६, शनिबार ०२:०९