आस्था राउतले गरिन् सिक्किमबाट यस्तो अनुरोध

काठमाडौं, ५ माघ / गायिका आस्था राउतलाई जिल्ला प्रशासन कार्यलय काठमाडौंले प क्राउ पुर्जी जारी गरेपछि अहिले काठमाडौं प्रहरीले उनलाई खोजिरहेको छ । प्रहरीले मिडियासँग आस्था फरार भएको बताइरहेको बेला आस्था भने कन्सर्टका क्रममा सिक्किममा नै रहेकी छन् ।

पक्राउ पुर्जी जारी भएपछि गायिका राउत नेपाल लाइभको सम्पर्कमा आएकी छिन् । तपाईं पक्राउको डरले फरार हुनुभएको हो र भन्ने नेपाल लाइभको प्रश्नमा आस्थाले भनिन्, ‘अहिले बाहिर प्रचार भएजसरी म फरार भएकी छैन, कन्सर्टका लागि सिक्किम आउने क्रममा नै ममाथि यो दुर्व्यवहारको घटना भएको हो । मेरो अझै यहाँ केही कार्यक्रम बाँकी नै छन् । त्यो कार्यक्रम सक्किएपछि म चाँडै नेपाल फर्किन्छु ।’

यही बेला नेपाल लाइभको सम्पर्कमा आइपुगेकी आस्था भन्छिन्, ‘मैले आवेशमा आएर पूरै प्रहरी संगठनकै सम्मानमा आँच पुग्ने केही शब्द बोलेकी थिएँ । त्यसका लागि मैले सार्वजनिक रुपमै माफी मागिसकेकी छु । फेरि पनि माग्न तयार छु । तर फेरि पनि भन्छु, मैले त्यतिबेला विमानस्थलमा भोगेको व्यवहार सह्य थिएन । यद्यपि अनुसन्धानका क्रममा प्रहरीसँग मैले थप केही ‘को-अपरेट’ गर्नुपरे नेपाल फर्कनासाथ गर्न तयार छु । तर, प्लिज मलाई फरार चाहिँ नभन्दिनुस् ।’

बिहीबार गायिका राउतले माघे मेलामा प्रस्तुति दिन सिक्किम जाने क्रममा आफू एक जना महिला प्रहरीको दुर्व्यवहारमा परेको दाबी गर्दै फेसबुक लाइभ गरेकी थिइन् ।

फेसबुक लाइभका क्रममा आस्था एकदमै आवेगमा थिइन् । प्रहरीले आफूलाई दुर्व्यवहार गरेको जानकारी दिइरहँदा उनी प्रहरी संगठनमाथि नै प्रश्न उठ्नेगरी खनिएकी थिइन् ।

Loading...
प्रकाशित मिति ५ माघ २०७६, आईतवार १४:०६