आजदेखि देशभर वर्षा र हिमपात

काठमाडौ / पश्चिमी वायुको प्रभावले फेरि देशैभरीको मौसम प्रभावित बन्ने भएको छ । भू–मध्य सागरबाट सोमबार अपरान्ह्र भित्रिएको जलवाष्पयुक्त वायु (हावामा पानीको अंश) ले बुधबार देशैभर हिउँदे वर्षा र हिमपात हुँदैछ ।भू–मध्य सागर र अरब सागरको वायुको दोहोरो मिश्रणले मध्य र सुदुर पश्चिमका उच्च पहाडी र हिमाली भेगमा भारी हिमपात हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार साँझदेखि नै सुदुरपश्चिमका उच्च पहाडी र हिमाली भेगमा हिमपात सुरु भइसकेको महाशाखाकी मौसमविद् मञ्जु बासीले बताइन् ।

‘अहिले भित्रिएको वायुको असर त देशैभरी नै देखिन्छ तर केही बढी असर भने पश्चिमी भेगमा पर्नेछ, पश्चिममा अहिले साँझदेखि नै असर शुरु भइसक्यो’, महाशाखाकी मौसमविद् मञ्जु बासीले भनिन् ।अहिले भित्रिएको वायुको आंशिक प्रभाव आज मंगलबार मध्य र पूर्वी भेगमा आंशिक प्रभाव पर्ने र भोली सबैभागमा फैलिने र त्यसको प्रत्यक्ष÷अप्रत्यक्ष असर बिहिवारसम्म रहने उनले प्रष्ट्याइन् । डेढ साता अघिको जस्तो निरन्तर झरीको संभावना भने नरहेको महाशाखाका अधिकारी बताउँछन् ।हिउँदे झरी र हिमपात गराउने भू–मध्य सागरको वायु इरान, अफगानिस्तान, पाकिस्तान, भारतको जम्मु काश्मीर हुँदै भित्रिने गर्छ ।

विज्ञहरुका अनुसार भू–मध्य सागरको वायु जति कम उचाई हुँदै बहन्छ त्यसले अरब सागरको वायुलाई समेत दक्षिण एसियाली मुलुकतर्फ धकेल्न सघाउ पुर्‍याउँछ ।दुवै सागरको वायुमा पर्याप्त जलवाष्पको मात्रा भएपछि मौसम धुमिने र हिउँदे झरी गराउने उच्च सम्भावना रहन्छ । पश्चिमी वायु जमिनको सतहबाट साढे पाँच किमी वा सो भन्दा कम उचाइ दुरी हुँदै बहेमा वर्षा र हिमपातको संभावना उच्च रहने गर्छ ।

Loading...
प्रकाशित मिति १४ माघ २०७६, मंगलवार ००:५६