स्वस्तिमा र सुपुष्पाको मस्ती

काठमाडौं / चैत २८ गतेबाट प्रदर्शनमा आउन लागेको निकेश खड्का निर्देशित चलचित्र ‘चपली हाइट ३’ को ‘चारानाको मसला’ बोलको गीतको छायांकन गरिएको छ । योसँगै चलचित्रको सम्पूर्ण छायांकन सकिएको छ ।

काठमाडौँको ठमेलस्थित एक क्लबमा खिचिएको गीतमा चलचित्रका कलाकारहरु स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट र महेश त्रिपाठीलाई फिचर्ड गरिएको छ ।

गीतमा सुवाष भुषालको संगीत, अस्मिता अधिकारी र राज खुम्बुको आवाज रहेको छ । प्रदीप लामाले कोरियोग्राफी गरेको गीतलाई पुरुषोत्तम प्रधानले खिचेका छन् । गीत छायांकनका केही तस्विरहरु निर्माण टिमले सार्वजनिक गरेको छ । जसमा अभिनेत्री द्वय स्वस्तिमा र सुपुष्पालाई बोल्ड रुपमा देख्न सकिन्छ । यो गीत चाँडै सार्वजनिक गरिने निर्माता अर्जुन कुमारले बताए ।

बक्सअफिसमा ‘प्रेमगीत ३’ सँग भिड्न लागेको ‘चपली हाइट ३’ मा दर्शकले सस्पेन्स र थ्रिल पाउने निर्माता अर्जुनको दाबी छ । यो चलचित्रका अघिल्लो दुई श्रृंखला दीपेन्द्र के. खनालले निर्देशन गरेका थिए ।

नाम नै ब्रान्ड बनिसकेका ‘चपली हाइट’ को तेस्रो श्रृंंखलामा स्वस्तिमा-महेश र सुपुष्पा-प्रतिकको जोडी बाँधिएको छ । अर्पण थापा र प्रतिक श्रेष्ठको पनि चलचित्रमा अभिनय छ ।

Loading...
प्रकाशित मिति १४ माघ २०७६, मंगलवार ०५:५७