३ दिनसम्म वर्षा र हिमपात

काठमाडौं / नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभावले आगामी ३ दिनसम्म वर्षा र हिमपात हुने पूर्वानुमान गरिएको छ ।

अहिले देशको पश्चिमी भू–भागमा सामान्यदेखि पूर्ण बदली तथा पूर्वी र मध्य भू–भागहरूमा आंशिक बदली भइरहेको छ ।

बुधवार दिउँसो देशको पश्चिम तथा मध्य भू–भाग लगायत पूर्वी भेगका पहाडी क्षेत्रमा सामान्य बदली रही पूर्वी तराई भेगमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी र मध्य भू–भागका धेरै स्थानहरूमा र पूर्वी भेगका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भूभागमा समेत हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जनाइएको छ । पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका १–२ स्थानमा भारी हिमपातको सम्भावना छ ।

बुधवार राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने महाशाखाले जनाएको छ । पश्चिमी र मध्य भूभागका अधिकांश स्थान र पूर्वी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जनाइएको छ ।

बिहीवार दिउँसो देशको उच्च पहाडी र हिमाली भेगमा सामान्य बदली रहने छ भने बाँकी भूभागमा आंशिक बदली रहनेछ । पूर्वी र मध्य भूभागका थोरै स्थानहरू र पश्चिमी भूभागका १–२ स्थानमा हल्का वर्षाको सम्भावना समेत रहेको छ ।

उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । बिहीवार राति देशको पूर्वी भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली रहने छ ।

शुक्रवार दिउँसो देशको पहाडी भेगमा आंशिक बदली रहेर मध्य र पूर्वी पहाडी भेगका १–२ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने बाँकी भूभागमा सामान्यतया मौसम सफा रहने छ । रातिदेखि देशको पहाडी भेगमा आंशिक बदली रहेर मध्य र पूर्वी पहाडी भेगका १–२ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने बाँकी भूभागमा सामान्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ ।

Loading...
प्रकाशित मिति १५ माघ २०७६, बुधबार ०१:५८