काठमाडौं, १७ माघ / चावहिल चोकमा पैदल यात्रुका लागि सार्न मिल्ने आकाशे पुल निर्माण कार्य थालनी भएको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले बिहीबार पुल निर्माणको शिलान्यास गरेर निर्माण कार्यको शुभारम्भ गरेका हुन् ।
फलामबाट बन्ने यो पुल निर्माणको लागत अनुमान १ करोड २१ लाख ३३ हजार ८४३ रुपैयाँ रहेकाे छ । बोलपत्र आव्हान हुँदा आएका प्रस्तावमध्ये कान्छामान निर्माण सेवाले ८२ लाख ६६ हजारमा निर्माण कार्यको कबोल गरेर काम जिम्मेवारी पाएको महानगरले जनाएको छ। पुलको लम्बाइ २३ मिटर र चौडाइ २ मिटरको हुनेछ।
निर्माण पक्षसँग गएको कात्तिक २७ गते नै सम्झौता भइसकेको छ । सम्झौताबमोजिम पुल निर्माणको काम २०७७ असार २७ गतेभित्र सम्पन्न गरिसक्नुपर्नेछ।
शाक्यले पुल बनेपछि पैदल यात्रुको सुरक्षा र सहरी सवारी आवागमनलाई सहज हुने बताए । उनले पैदल यात्रुका लागि अन्य स्थानमा समेत क्रमशः आकाशे पुल निर्माण गर्दै जाने बताए।