चीनमा रहेका नेपाली विद्यार्थीलाई पर्यटन मन्त्रीले दिए खुशीको खबर

काठमाण्डौ / संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले चीनमा रहेका नेपाली विद्यार्थीलाई ल्याउन जहाज तयारी अवस्थामा रहेको बताउनुभएको छ ।

कोरोना भाइरस र यसबाट पर्यटन क्षेत्रमा परेको असरका विषयमा शनिबार पर्यटन बोर्डमा भएको छलफलमा मन्त्री भट्टराईले चीनमा अध्ययनरत विद्यार्थीहरुलाई फिर्ता गर्न दुईवटा जहाज तयारी अवस्थामा रहेको बताउनुभएको हो ।

यो पनि पढ्नुहोस् :

चीनले कोरोना भाइरस प्रभावित क्षेत्रमा रहेका नेपालीहरुको जीवन रक्षा र स्वास्थ्य उपचारको ग्यारेन्टी गरिएको भन्दै आश्वस्त रहन आग्रह गरेको छ ।नेपालस्थित चिनियाँ दूतावासले शनिबार प्रेस विज्ञप्ति जारी गरी सो आग्रह गरेको हो ।विज्ञप्तिमा लेखिएको छ, ‘विद्यार्थीहरुसहित केही नेपालीहरु अझै पनि वुहानमा छन् ।

उनीहरुको जीवन तथा स्वास्थ्य उपचारको ग्यारेन्टी गरिएको छ ।’चीनको हुपेई प्रान्तको वुहान भन्ने स्थानबाट कोरोना भाइरस फैलिएको थियो । त्यहाँ अझै पनि नेपालीहरु रहेको र उनीहरुले छिटो उद्धार गरिदिन आग्रह गरिरहेको समाचार प्रकाशमा आएका बेला चिनियाँ दूतावासले विज्ञप्ति जारी गरी उनीहरुको रक्षाका लागि सक्रिय कदम चाल्ने जानकारी दिएको हो ।

महामारी नियन्त्रणका लागि र विदेशीहरुसँग समन्वय गर्नका लागि आपतकालीन संयन्त्र स्थापना गरिएको जानकारी दिँदै दूतावासले भनेको छ, ‘हामी यस महामारी नियन्त्रणको लडाइँ जित्नेमा विश्वस्त र सक्षम छौं । चीन सरकारले अन्तर्राष्ट्रिय दायित्वको पालना निकै जिम्मेवारपूर्वक गर्ने छ ।’विदेशी नागरिकहरुको स्वास्थ्य सुनिश्चित गर्नका लागि हरसम्भव प्रयास गर्ने र सबै पक्षको जायज चिन्ता दूर गर्ने दूतावासको विज्ञप्तिमा उल्लेख छ ।विज्ञप्तिमा लेखिएको छ, ‘कृपया विश्वस्त हुनुस् चीनले सबैको हितको रक्षाका लागि सक्रिय कदम उठाइरहने छ ।’

नेपाली पक्षले कोरोना भाइरसको महामारी रोकथामका लागि विश्व स्वास्थ्य संगठन -डब्लुएचओ)सँग समन्वय गरेर चालेका कदमहरुको चीनले प्रशंसासमेत गरेको छ । यदि आवश्यक भएमा नेपाली पक्षले काठमाडौंस्थित चिनियाँ दूतावास वा चीनको विदेश मन्त्रालयसँग पनि यसबारेमा कुराकानी गर्न सक्ने दूतावासले जनाएको छ ।

कोरोना भाइरसको संक्रमणका कारण नेपालमा चिनियाँ पर्यटकको आगमन प्रभावित हुने भन्दै दूतावासको विज्ञप्तिमा लेखिएको छ, ‘महामारी नियन्त्रणमा आएपछि धेरैभन्दा धेरै चिनियाँ पर्यटकहरुलाई नेपाल भ्रमण गर्न प्रोत्साहन गर्छौं र भिजिट नेपाल २०२० मा योगदान पुर्‍याउने छौं ।’

Loading...
प्रकाशित मिति १८ माघ २०७६, शनिबार ०७:४०