एमसीसी बारे यसो भन्छन् : युवा नेता गगन थापा

काठमाडौं, २० माघ । नेपाली कांँग्रेसका नेता तथा पूर्व मन्त्री गगनकुमार थापाले बहुचर्चित एमसीसीको बिषयमा नपढिकन र नबुझिकन बोल्ने संस्कृतिले गर्दा पनि समस्या झन जटिल बन्दै गएको बताउनु भएको छ ।

पशुपति बहुमुखी क्याम्पसको ४० औ बार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा नेता थापाले नेपाली समाजमा पठन पाठनको संस्कृतिमा कमी भएको हुँदा पनि एमसीसी जस्तो संवेदनशील विषयमा समाजमा झन बढी अन्यौल र अस्पष्टता छाएको चर्चा गर्नु भयो । विश्वविद्यालयस्तरमा शिक्षाको गुणस्तर खस्कदो अवस्थामा रहेको हुदाँ सरकारले व्यवहारिक र जीवनोपयोगी शिक्षाको विकासमा प्राथमिकता दिनु पर्ने पनि उहाँको भनाइ थियो ।

सांसद थापाले विश्वविद्यालयको गुणस्तर, पठनपाठनको संस्कृतिमा ह्रास आइरहेको उल्लेख गदै बजार र शिक्षाको गुणस्तर बीच तालमेल नहुदाँ शैक्षिक बेरोजगारी बढेको चर्चा गर्नु भयो । कार्यक्रममा प्रदेश सांसद नरोत्तम वैद्य र कुसुम कार्कीले प्रदेश तहमा शिक्षा र स्वास्थ्य क्षेत्रको विकासलाई स्थानीय सरकारले बिशेष प्राथमिकता दिनु पर्ने आवश्यकता रहेको उल्लेख गदै स्थानीय तहका शिक्षालयको गुणस्तरलाई माथि उठाउनुृ पर्ने अवस्था रहेको बताउनु भयो । उहाँहरुले शिक्षाका नीति निर्माताहरुले मुलुकको सामुदायिक शिक्षण संस्थाहरुको पठन पाठन र गुणस्तरको विकासमा जोड दिनु भयो ।

कार्यक्रममा नेपाल बिद्यार्थी संघका महामन्त्री मनोज बैधले गुणस्तरीय, व्यवसायिक तथा शिपमूलक शिक्षाको विकासमा जोड दिनु भयो भने अनेरास्ववियु अखिलका केन्द्रीय सदस्य इन्द्र भुषालले सामुदायिक शिक्षण संस्थाहरुले गुणस्तर र प्राज्ञिक बिकासमा ध्यान दिन नसकेको गुनासो गर्नुभयो । पशुपति बहुमुखी क्याम्पसको क्याम्पस प्रमुख प्राध्यापक प्रयागराज भट्टराईले क्याम्पसले विश्वविद्यालय स्थापनाको योजना बनाएर अघि बढेको चर्चा गर्दै त्यसको लागि प्राज्ञिक र भौतिक पूर्वाधारको तयारी भइरहेको बताउनुु भयो ।

क्याम्पस प्रमुख भट्टराईले पशुपतिनाथ विश्वविद्यालयको अवधारणा लिएर अघि बढेको उल्लेख गर्दै सिपमूलक र प्राविधिक जनशक्ति उत्पादन गर्ने पाठ्यक्रम अघि बढाउने योजना रहेको बताउनु भयो । क्याम्पस ब्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष चन्द्रप्रसाद त्रिपाठीको अध्यक्षता सम्पन्न कार्यक्रममा बिभिन्न क्षेत्रका शिक्षाविद्, नीति निर्माताहरुले शैक्षिक विकासको बिषयमा चर्चा गर्नु भएको थियो ।

सो अवसरमा क्याम्पसमा शिक्षाबिद् समाजसेवी, तथा बिभिन्न बिषयका प्राध्यापक, कर्मचारी, उत्कृष्ट छात्र -छात्रा तथा पदाधिकारीहरुलाई बिभिन्न पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो । वि.सं २०३७ सालमा स्थापना भएको पशुपति बहुमुखी क्याम्पसको मुलुकको अंग्रणी शैक्षिक संस्थाको रुपमा परिचित रहेको छ ।

Loading...
प्रकाशित मिति २० माघ २०७६, सोमबार १४:१८