रेखा थापा र दयाहाङ राईको ‘नीरफूल’

काठमाडौ, माघ २ / आगामी ३० फागुनमा देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘नीरफूल’ को फस्टलुक सार्वजनिक भएको छ । सञ्चारकर्मी फूलमान बलले निर्देशन गरेको यो चलचित्र भूकम्पका कारण बिछोडिएका एक परिवारको प्रेमकथा आधारित छ ।

गणेश हिमाल क्षेत्रमा पर्ने रुबी भ्याली र काठमाडौंमा छायांकन गरिएको यस चलचित्रमा अभिनेता दयाहाङ राई, अभिनेत्री रेखा थापा, सरिता गिरी, शान्ति वाइबा, राजन खतिवडा, बुद्धि तामाङ, सरोज अर्याल, पुष्कर गुरुङ, मानस राज, जिम्मे छ्योकी घिसिङ लगायतका कलाकारको अभिनय छ ।

चलचित्र निर्माण पक्षले चारवटा पोस्टर सार्वजनिक गरेको छ । पोस्टरमा रुबी भ्याली र काठमाडौंको लोकेसन देखाइएको छ । रुवी भ्याली समेटिएको पोस्टरमा परिवार र प्रेमको विषयलाई देखाइएको छ । त्यस्तै, भूकम्पपछिको काठमाडौं समेटिएको पोस्टरमा चरित्रहरूको संघर्ष र बिछोडलाई प्रस्तुत गरिएको छ । चलचित्रमा अभिनेत्री रेखा थापालाई विशेष भूमिकामा प्रस्तुत गरिएको निर्माण पक्षले जनाएको छ ।

निर्देशक बलले चलचित्रमार्फत धादिङको रुबी भ्यालीको एउटा परिवारमार्फत भूकम्पको बेलाको मानवीय संघर्ष र आम मनोविज्ञानलाई देखाउन खोजिएको बताए । उनले भने, ‘अहिलेसम्म बाहिर आउन नसकेको रुबी भ्याली क्षेत्रको भूगोल र संस्कृतिलाई समेत फिल्ममा समेटिएको छ ।’ सौय दैनिकमा खबर छ ।

सचिन घिमिरे र निर्देशक बलकै पटकथा रहेको यस चलचित्रमा सचिन एसोसिएट निर्देशक रहेका छन् । प्रमोद कार्कीको छायांकन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङको संगीत रहेको यस चलचित्रको सम्पादन निमेष श्रेष्ठ र वितरक गोविन्द शाही र मनोज राठी रहेका छन् ।

Loading...
प्रकाशित मिति २१ माघ २०७६, मंगलवार २२:२८