बागलुङमा जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा ३ को मृत्यु

बागलुङको तमानखोला गाउँपालिका—३ बुलबुलेमा जन्ती लिएर बुंगादोभान जादैँ गरेको ट्याक्टर दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ ।

म्याग्दीको मालिका गाउँपालिकाबाट बागलुङको बोंगादोभान तर्फ बेहुली लिनका लागि जादैँ गरेको ग १ त ५७६२ नम्बरको ट्याक्टर सडकबाट झण्डै ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरिक्षक नवराज भट्टले जानकारी दिनुभयो । ट्याक्टरमा सवार ३५ जना मध्य दुर्घटनामा परी ३ जनाको मृत्यु, ४ जना गम्भीर घाइते, ५ जना सामान्य घाइते र २३ जना सकुसल रहेका छन् ।

बिहीबार साँझ झण्डै ७ बजेको समयमा भएको दुर्घटनामा परी म्याग्दीको मालिका गाउँपालिका—२ बस्ने २१ बर्षकी रिता पुन, सोही स्थानका ५२ बर्षकी मनकुमारी पुन र ५७ बर्षका ओम प्रकाश पुनको मृत्यु भएको प्रहरीले जनाएको छ । केही व्यक्तिहरुको उद्धार गरी बुर्तिबाङ स्वास्थ्य चौकी लैजान लागिएको र बाँकीको खोजतलास तथा उद्धार कार्य जारी रहेको बताइएको छ ।

घाइतेहरु मध्य म्याग्दीको मालिका गाउँपालिका २ का ४८ बर्षका मन प्रसाद पुन, २९ बर्षका चालक रमेश घर्ती, ४२ बर्षका खगेन्द्र पुन तथा ४३ बर्षकी गौमाया पुनको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी हवलदार महेन्द्र तिमिल्सिनाले बताउनुयभयो ।

ग्रामिण भेगहरुमा अझै पनि यातायातको समस्याका कारण ट्याक्टरमा जन्ती लिएर जाने चलन रहेको छ । घुम्टी तथा साँघुरो सडकसंगै ट्याक्टरमा क्षमता भन्दा बढी मानिसहरु बसेकाले दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले बताएको छ ।

Loading...
प्रकाशित मिति २३ माघ २०७६, बिहीबार १६:४३