क्यान्सर पीडित दिनालाई श्वेता खड्काले गरिन् यति धेरै सहयोग

काठमाडौं / टिचिङ अस्पतालमा केमो थेरापी गराइरहेकी दिनालाई श्वेता खड्काले पचास हजार सहयोग गरेकी हुन् । उनी लेख्छिन्: “मेरो जन्मदिन, सानो कर्म- सार्थक क्षण ”

म टिचिङ अस्पतालको Annex (ii) को ६०४ न क्याबिनमा पुग्दा अशक्त भएर ढलेकी थिइन् नेपालगन्ज (खजुरा)की २४ बर्सिया दिना परियार ।

मलाई देखेपछि झटपट उठ्न खोजिन् , मैले रोकेँ । मैले उनको स्वास्थ्य स्थितिबारे सोध्दै उनी सुतेको कोठामा आँखा डुलाएँ । उनी सुतेको बेड नजिकै भगवानका केही तस्बिरहरू छन्, जसलाई हरेक दिन पुज्ने गरेकी छिन् दिनाले । ” म अहिले डाक्टर र भगवानको विश्वासमा अडेकी छु ” उनले भनिन् । आज मेरो जन्म दिन, भगवान् पशुपतिनाथको दर्शन गरे पश्चात् मानवीयताको कर्म निभाउन टिचिङ अस्पताल पुगेको थिएँ ।

केही दिन अगाडि मेरो जानकारीमा आएको दिना परियारको नाजुक स्थितिमा थोरै भए पनि आफूले सकेको आर्थिक सहयोग गर्नु अनि उनिलाई आँट, साहस र हिम्मत प्रदान गर्नु मेरो उद्देश्य थियो । कुनै मिडिया मार्फत दिनाले खेपिरहेको आर्थिक सङ्कटलाई प्रस्तुत गर्न पाए उपचार खर्च जुटाउन सहयोग पुग्ने थियो भन्ने उनको परिवारको आशय अनुरूप मैले लोकप्रिय सञ्चार कर्मी उत्सव रसाइलीलाई दिनाको रिपोर्टिङ गरिदिन आग्रह गरेकी थिएँ ।

यो आग्रहलाई उत्सवले सहजै स्वीकार गरिदिए । यो मेरो सानो प्रयास हो । आफू मानव भएर जन्मनुको कर्तव्य निर्वाह गरेर मानवकै बर्गमा आफूलाई सम्मिलित गर्ने झिनो कार्य ।

“जन्म किन हुन्छ ?” भन्ने प्रश्नमा धेरै जना को उत्तर “मर्न” भन्ने हुन्छ । तर मान्छेको जीवनलाई जन्म र मृत्‍युसंग मात्रा तुलना गर्नु भनेको लाचारी बाहेक केही होइन । हाम्रो जन्म भएको केही कर्म गर्नको लागि हो जसले समाज परिवर्तनमा सानै भए पनि देन मिलोस् ।

अतः मेरो यो झिनो प्रयासलाई मैले विज्ञापनको रूपमा होइन जानकारीको रूपमा प्रस्तुत गर्न खोजेकी हुँ ताकी दिना परियारहरू जस्तालाई रोगसँग लड्ने शक्ति मिलोस् । हाम्रो सानो प्रयासले कसैको जीवनमा ठुलो परिवर्तन ल्याउन सक्छ भने, किन नगर्ने ।

मेरो उपस्थितिले दिनाको ओठमा मुस्कान छायो, मैले ठुलो गिफ्ट पाएँ । कपडा सिलाएर जीवन चलाइरहेकी दिना परियारले छिट्टै निको भएर मलाई राम्रो ड्रेस सिलाइदिन्छु भनेकी छन् । मैले अर्को जन्मदिन मनाइरहँदा उनले सिलाएको पहिरन पहिरिन पाएँ भने त्यो मेरो लागि ठुलो गिफ्ट हुनेछ । दिनाले क्यान्सरलाई जित्न सकुन् , मेरो शुभकामना ।

Loading...
प्रकाशित मिति २४ माघ २०७६, शुक्रबार ०९:५१