गौतमबुद्ध रंगशालालाई महायज्ञबाट ३५ करोड संकलन, ५५ करोड संकलन हुने अपेक्षा

चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको सहयोगार्थ आयोजना गरिएको धनधान्याचल महोत्सवमा हालसम्म नगद र बोलकबोल गरी रु ३५ करोड बढी सङ्कलन भएको छ । महायज्ञ मूल आयोजक समितिका संयोजक प्रदेशसभा सदस्य विजय सुवेदीका अनुसार आज अन्तिम दिन थप रु २० करोड सङ्कलन हुने अपेक्षा गरिएको छ । यससँगै महायज्ञबाट रङ्गशालालाई रु ५५ करोड सङ्कलन हुने अपेक्षा गरिएको उहाँले जानकारी दिनुभयो ।

रङ्गशाला सहयोगार्थ भनिएपछि महायज्ञमा जिल्लाका घरघरबाट आर्थिक सङ्कलन गरी टोल, आमा समूह, सरकारी र गैरसरकारी कार्यालय, स्थानीय तह, सामूदायिक वन, सहकारी, क्लब, स्वास्थ्य संस्था, शिक्षण संस्थाले रकम सङ्कलन गरी महायज्ञमा बुझाएका छन् । मूल आयोजक समितिका महासचिव दिनेशकुमार चुकेका अनुसार हालसम्म सबैभन्दा बढी वाग्मती प्रदेश सरकारले रु १५ करोड उपलब्ध गराउने महायज्ञमा घोषणा गरेको छ ।

यसैगरी जिल्ला समन्वय समिति चितवनले रु दुई करोड २२ लाख घोषणा गरेको छ भने नवलपरासीको गैँडाकोट नगरपालिकाले रु एक करोड बराबर सहयोग गर्ने जनाएको छ । यसैगरी भरतपुर महानगरपालिकासहित जिल्लाका सबै स्थानीय तहले रकम घोषणा गरेका छन् । चुकेका अनुसार आज प्रदेश सरकार र भरतपुर महानगरपालिकाले रकम थप गरी घोषणा गर्ने कार्यक्रमा रहेको छ ।

निजी क्षेत्रबाट सबैभन्दा बढी गोल्डमाइण्ड विजनेश समूहका अध्यक्ष वामदेव गौलीले रु एक करोड १२ लाख बराबरको जग्गा दान गर्नुभएको छ । पोल्ट्री व्यवसायीहरुले रु एक करोड घोषणा गरेका छन् । उद्योग वाणिज्य सङ्घ चितवन, उद्योग सङ्घ चितवन, चेम्बर अफ कमर्स, उद्योग परिसङ्घलगायतका सङ्घसंस्थाले महायज्ञमा रकम सहयोग गरेका छन् ।

महायज्ञका वाचन दिनबन्धु पोखरेलले आफूले पारिश्रमिक नलिने घोषणा गर्दै स्वयम् सहयोगको घोषणा गर्नुभएको छ । जसले अरूलाई पनि उत्साहित बनाएको छ । जिल्लाका उद्योगी, व्यवसायी, जनप्रतिनिधि, सांसद, प्रदेशसभा सदस्य, पूर्वसांसदहरुले सहयोग गरेको कोषाध्यक्ष शङ्कर कँडेलले बताउनुभयो ।

उहाँले भन्नुभयो “भरतपुर महानगरभित्रका धेरैले धेरथोर महायज्ञमार्फत रङ्गशालालाई सहयोग गरेका छन् ।” जिल्लाका अन्य स्थानीय तहमा पनि गाउँगाउँबाट रकम सङ्कलन भएको उहाँले जानकारी दिनुभयो ।

नगदसँगै हालसम्म रु ४५ लाख ७९ हजार २०० बराबरको धानसमेत सङ्कलन भएको छ ।

Loading...
प्रकाशित मिति २७ माघ २०७६, सोमबार १०:१२