सर्वसाधारणले किन्नै नसकिने गरेर बढ्यो लसुनको भाउ

काठमाडौँ, २८ माघ / चालु आर्थिक वर्षको ६ महिनामा नेपालले ६३ करोड ९१ लाख ६० हजार रुपैयाँको ५ हजार ७ सय २८ मेट्रिक टन लसुन विदेशबाट आयात भएको देखिएको छ । यही गति रहे वर्षभरिमा एक अर्ब रुपैयाँभन्दा बढीको लसुन आयात गरिने खबर आजको अन्नपुर्ण पोष्ट दैनिकमा छापिएको छ ।

तथापि कोरोना भाइरसका कारण पछिल्लो समय चीनबाट लसुन नआउँदा नेपाली बजारमा लसुनको मूल्य अकासिएको छ । अहिले यसको बजार मूल्य सरदर ६ सय ५० रुपैयाँ प्रतिकिलो पुगेको छ । जब कि २० दिनअघि यसको मूल्य एक सय ३० रुपैयाँ थियो ।

गत आव ०७५÷७६ मा ८३ करोड ३० लाख मूल्यको ९ हजार दुई सय ७७ मेट्रिक टन लसुन आयात भएको थियो । नेपालले त्यही अवधिमा १५ लाख मूल्यबराबरको १८ मेट्रिक टन निर्यात गरेको थियो । कृषिजन्य उत्पादनमा मुलुकको परनिर्भरताको पराकाष्ठा लसुनले झल्काउँछ ।

राष्ट्रिय आलु तरकारी तथा मसला बाली विकास केन्द्रका अनुसार हरेक वर्ष ठूलो परिमाणमा लसुन चीन, भारत र अन्य मुलुकबाट आयात हुन्छ। सबैभन्दा बढी चीनबाट हुन्छ ।

Loading...
प्रकाशित मिति २८ माघ २०७६, मंगलवार ०२:४४