बोलेरो जिपको ठक्करबाट असईको ज्यान गयो

काभ्रेपलाञ्चोक, २ फागुन / जिपको ठक्करबाट प्रहरी सहायक निरीक्षक (असई) को ज्यान गएको छ । काठमाडौँबाट फर्निचरको सामान बोकेर पाँचखाल जाँदै गरेको बा १९ च १३२३ नम्बरको बोलेरोको ठक्‍करबाट प्रहरी चौकी साँगाका इन्चार्ज तेजबहादुर गुरुङको ज्यान गएको हो ।

गुरुङको धुलिखेल अस्पतालमा उपचारको क्रममा शुक्रबार दिउँसो निधन भएको हो । ड्युटीमा नै रहेका असर्इ गुरुङलाई बाटो काट्ने क्रममा जिपले ठक्‍कर दिएको प्रहरीले जनाएको छ ।

गुरुङलाई प्रहरी चौकी अगाडि नै जिपले ठक्‍कर दिएको इलाका प्रहरी कार्यालय बनेपामा प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिनुभयो । तिमिल्सिनाका अनुसार ठक्‍कर दिने जिपका चालक भक्तपुर नपा १० का बिक्रम नाकी बन्जारलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रारम्भिक अनुसन्धानबाट तीव्र गतिमा रहेको जिपले नियन्त्रण गुमाउँदा दुर्घटना भएको हुनसक्ने जिल्ला ट्राफिक कार्यालय काभ्रेका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिनुभयो । शव पोष्टमार्टमका लागि टिचिङ अस्पताल लगेको प्रहरीले जनाएको छ।

Loading...
प्रकाशित मिति २ फाल्गुन २०७६, शुक्रबार १३:२९