नेपालको नक्सा आकारको केक काटेपछि , प्रधानमन्त्रीको चर्को आलोचना

काठमाडौं, ११ फागुन / प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६९औं जन्मोत्सव पुर्ख्यौली घर तेह्रथुमको आठराई गाउँपालिकामा पुगेर मनाउनुभएको छ । २००८ साल फागुन ११ गते आजकै दिन उहाँ तेह्रथुमको साविक इवा गाविसको तीनसल्लेमा जन्मिनुभएको थियो ।

प्रधानमन्त्री ओली जन्मदिन मनाउन धर्मपत्नी राधिका शाक्कय, बुवा मोहनप्रसाद ओली, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाल, खानेपानी मन्त्री बिना मगर, सङ्घीय सांसद विजय सुब्बा र गणेश विमलील लगायतसँग जन्मदिन मनाउन जन्मस्थान आठराई पुग्नुभएको हो ।

तस्बिर / सामाजिक सञ्जाल

जन्मदिन मनाउन पुख्र्यौली घर पुगेका प्रधानमन्त्रीले नेपालको नक्सा आकारको केक काटेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि धेरैले आलोचना सहित टीकाटिप्पणी गरेका छन् ।

उहाँलाई तेह्रथुमबाट निर्वाचित सङ्घीय सांसद भवानीप्रसाद खापुङ, प्रदेशसभा सदस्य लक्ष्मण तिवारी र तेजमान कन्दङ्वा, गाउँपालिका अध्यक्ष मानबहादुर लिम्बू र स्थानीयवासीले भव्य कार्यक्रमको आयोजना गरेर स्वागत गरेका थिए ।

प्रधानमन्त्री ओली आउने भएपछि आठराई गाउँपालिकाले सार्वजनिक विदासमेत दिएको थियो । उहाँको स्वागतमा आठराईका चोकचोकमा स्वागतद्वार बनाइएका थिए । उहाँले जन्मदिनकै अवसरमा आठराईका २ हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्नुभएको छ ।

त्यसैगरी उहाँले स्थानीय २ सय वृद्धवृद्धालाई न्यानो कपडा पनि वितरण गर्नुभएको छ । साथै आजै उहाँले छातेढुंगास्थित सुकेपोखरीबाट आफ्नो जन्मघर हुँदै ताप्लेजुङ्गको ढुङ्गेसाँघुमा रहेको तत्कालीन एमाले महासचिव मदन भण्डारीको जन्मघरसम्म पुग्ने मोटरबाटोको शिलान्यास गर्नुभयो।

यसअघि नै बेचविखन भइसको जग्गा पहिलोपटक ओली प्रधानमन्त्री हुँदा पुन आफ्नो नाममा लिनुभएको थियो ।

Loading...
प्रकाशित मिति ११ फाल्गुन २०७६, आईतवार १७:४२