विवाहित छोरीलाई पनि अंश दिने…

हेटौंडा उपमहानगरपालिका—१४ का तामाङ समुदायले विवाह गरेकी छोरीलाई पनि अंशबापत जग्गाजमिन दिने गरेका छन्।

१ सय ६५ घरधुरी रहेको बस्तीका अधिकांशले आफ्ना विवाहित छोरीलाई पनि अंश दिएका छन्। उक्त बस्तीमा तामाङ समुदायको बसोबास छ।

२०७५ साल भदौ १ गतेदेखि लागू भएको मुलुकी देवानी संहिता–२०७४ ले छोरीलाई पनि अंशको समान हकदार बनाए पनि यो व्यवहारमा लागू हुन नसकेको अवस्थामा हेटौंडाका नागरिक भने नमुना बनेका छन्।

हालसम्म पनि एकाधबाहेक बाबुआमाले छोरीलाई अंश दिने चलन छैन। उजुरी नै दिए पनि छोरीलाई अंश दिलाउने कानुनहरू यसअघि पर्याप्त नभएको सम्बद्ध विज्ञहरूको भनाइ छ। कानुनमा जे लेखिए पनि स्थानीय अभिभावकले छोरीहरूलाई स्वतःस्फूर्त अंश दिएर सम्मान जनाएका छन्।
हेटौंडा—१४ का धनबहादुर तामाङका दुई छोरा र चार छोरी छन्।

छोरासरह विवाह गरेका छोरीलाई उहाँले अंश दिनुभएको छ। गाउँका कृष्णबहादुर रुम्बाका दुई छोरा र दुई छोरी छन्। दुई छोरीलाई उहाँले पनि अंशबापत जग्गा दिनुभएको छ। रामबहादुर रुम्बाले पनि विवाह गरेका दुई छोरीलाई अंश दिनुभएको छ। यो खबर आजको नेपाल समाचार पत्रमा छापिएको छ ।

Loading...
प्रकाशित मिति १३ फाल्गुन २०७६, मंगलवार ०१:४२