विदेशबाट ल्याउन पाउने सामानको नयाँ सूची

काठमाडौं, २ साउन । के तपाई विदेशबाट नेपाल आउँदै हुनुहुन्छ ? अनि घर ल्याउनका लागि सामानहरु तयार गर्दै हुनुहुन्छ ? यदि हो भने पहिला विदेशबाट के सामान कति लैजान पाइन्छ भन्ने कुरा जानकारी लिनुस् ।

विदेशबाट फर्किंदा ल्याउन पाउने सामानको नयाँ सूची सार्वजनिक भएको छ । यसअघिको सूची विस्थापित गर्दै सरकारले नयाँ सूची सार्वजनिक गरेको छ ।

नयाँ व्यवस्थाअनुसार अब विदेशबाट लुगाफाटो, घर गृहस्थीका पुराना सामान, औषधि उपचार गराई बिरामीले ल्याएको औषधि, शारीरिक रुपमा अशक्त यात्रुले सहाराका रुपमा प्रयोग गरेका सामान, ५० ग्रामसम्म सुनका गहना, ५ सय ग्रामसम्मको चाँदीको गहना र एक लाख रुपैयाँ मूल्यसम्मको सुन वा चाँदीका गहना ल्याउँदा भन्सार नलाग्ने भएको छ ।

यस्तै ट्यावलेट वा ल्यापटप वा डेस्कटप कम्प्यूटर, घडी, क्यामरा, भिडियो क्यामरा, सेलुलर, मोवाइल फोन र पेनड्राइभ एक एक थान, सात किलोसम्म खाद्य, एक लिटरसम्म मदिरालगायत समानमा पूर्ण भन्सार छुट हुने भएको छ ।

यस्तै भारतीय सेना प्रहरीबाट सेवा निवृत्त भई निवृत्तिभरण पाउने गरी स्वदेश फर्कदा निवृत्त भएको कागजात पेश गर्दा एक पटकका लागि ५० हजारसम्मका निजी प्रयोगका सामानमा पूर्ण भन्सार छुट पाउने भएका छन् ।

यस्तै नेपाली नागरिकको विदेश बसाईमा मृत्यु भएको भन्ने प्रमाणित भए निज र निजको परिवारका पुराना सबै किसिमका सामान स्वदेश ल्याउँदा पूर्ण भन्सार छुट हुने व्यवस्था गरिएको छ ।

विदेशबाट फर्केका यात्रुले आफ्नो साथमा ल्याएको एक सय ग्रामसम्मको सुनमा भन्सार महसुल लिएर जाँचपास गर्न सकिने व्यवस्था छ ।

त्यो भन्दा बढी सुन ल्याएमा भने गैरकानूनी ठहर गरी जफत हुनेछ । यस्तै नेपाली नागरिक विदेश जाँदा सौगातका रुपमा नेपालमा उत्पादन भएका ५० हजार रुपैयाँसम्मका सामानमा महसुल छुट हुने जनाइएको छ ।

Loading...
प्रकाशित मिति २ श्रावण २०७६, बिहीबार १९:०५