विदेशबाट नेपाल आउने सबैले क्वारेन्टाइनमा बस्नै पर्ने ( यस्तो छ सुचना )

काठमाडौँ, ३० फाल्गुन / विश्वभर आतंक फैल्याई रहेको कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै सरकारले कडा कदम चालेको छ । अबदेखि  विदेशबाट आउनले नागरिकलाई नेपाल प्रवेशमा कडाइ गर्ने भएको छ । अध्यागमन विभागले विदेशबाट आउने नेपाली नागरिक तथा विभिन्न उद्देश्यले नेपाल आउने विदेशी नागरिकलाई क्वारेन्टाइनमा राख्ने छ ।

त्यसै गरि कुनै पनि विदेशी यात्रुका लागि नेपाल प्रवेशको ‘अन अराइभल भिसा’ निलम्बन गरिएको छ । पूर्व प्रवेशाज्ञाका आधारमा नेपाल आउने विदेशी नागरिकले बढीमा सात दिन अघिको ‘स्वाब’ परीक्षण रिपोर्ट पेश गर्नुपर्ने छ । गैरआवासीय नेपालीका हकमा पनि यो प्रावधान लागू हुने विभागले जनाएको छ ।

शनिबारदेखि नेपाल आउने सम्पूर्ण स्वदेशी एवं विदेशी नागरिक, गैरआवासीय नेपालीले समेत नेपाल प्रवेश गरेको दिनबाट १४ दिनसम्म अनिवार्य रुपमा ‘होम क्वारेन्टाइन’ मा बस्नुपर्ने विभागले प्रष्ट पारेको छ ।

यस्तै, विदेशी कुटनीतिक नियोगका पदाधिकारी एवं कर्मचारी नेपाल प्रवेश गर्दा १४ दिनसम्म ‘सेल्फ क्वारेन्टाइन’ मा बस्नुपर्ने जनाइएको छ । स्थलमार्गबाट तेस्रो मुलुकका नागरिकलाई नेपाल प्रवेशमा रोक लगाइएको छ भने उनीहरुका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमात्र नेपाल भित्रिने एकमात्र नाकाका रुपमा तोकिएको विभागको भनाइ छ ।

विभागले शुक्रबार जारी गरेको सूचनाअनुसार शनिबार मध्यरातदेखि आगामी अप्रिल ३० सम्मका लागि यी प्रावधान लागू हुनेछन् ।

Loading...
प्रकाशित मिति ३० फाल्गुन २०७६, शुक्रबार ०९:४९