सोलुखुम्बुको सोताङ गाउँपालिकाबाट प्रसुति व्यथाले छटपटाएकि महिलाको उद्धार गरिएको छ । गाउँपालिकाको वडा नम्बर ४ की ३० वर्षिया पुष्पकला राईलाई नेपाली सेनाको हेलिकप्टरमार्फत बिहिबार करिब ४ बजे उद्धार गरिएको हो । लकडाउनका यो समयमा मुलुक ठप्प रहेको समयमा सोताङ गाउँपालिका र जिल्ला प्रशासन कार्यलयको पहलमा उनलाई उद्धार गरिएको हो ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङको निर्देशनमा काठमाडौँ पु¥याए लगतै थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा राईको उपचार भइरहेको सोताङ गाउँपालिका अध्यक्ष बिरबहादुर राईले जानकारी दिनुभयो । सुत्केरी व्यथा लागेपछि स्थानीय प्राथमकि स्वास्थ्य केन्द्रमा पु¥याइएको थियो ।
पेटमा रहेको शिशुको स्वास्थ्य अवस्था जटिल भएपछि आमा र बच्चा दुवैको जीवनरक्षाका लागि काठमाडौँ पठाइएको सोताङ प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर आशिष आलोकले जानकारी दिनुभयो ।
‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ अन्तर्गत मन्त्रालयले जटिल स्वास्थ्य अवस्था भएका गर्भवती तथा सुत्केरीको हवाई उद्धार गरी उपचारको व्यवस्था गर्दै आएको छ । यसैबीच मन्त्री गुरुङले उपचाररत महिलाको उपचारमा कुनै कमी हुन नदिन अस्पतालका चिकित्सकलाई निर्देशन दिनुभएको छ ।
यसअघि यही चैत १५ गते पनि अत्यधिक रक्तश्राव भएकी खोटाङकी एक गर्भवतीको हवाई उद्धार गरी उपचार गरिएको थियो । मन्त्रालयको पहलमा हालसम्म ९२ सुत्केरी तथा गर्भवतीको हवाई उद्धार गरिसकिएको छ ।