ताप्ली गाउँपालिकाले गर्‍यो १४ लाखको कोष स्थापना

राकेश नेपाली

उदयपुर / विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को रोकथाम तथा नियन्त्रणका लागी उदयपुरको ताप्ली गाउँपालिकाले १४ लाखको अक्षयकोष स्थापना गरेको छ । चैत्र १८ गते गरिएको निर्णय अनुसार गाउँपालिकाको बिपत व्यबस्थापन समितीको १० लाख र जनप्रतिनिधिहरुको १ महिनाको सेवा सुबिधा ४ लाख सहित कुल १४ लाखको प्रकोप व्यबस्थापन कोष स्थापना गरिएको हो ।

प्राईम बैंकको ताप्ली शाखामा खाता रहेको कोषमा ताप्लीबासी लगायत ईच्छुक अन्य कर्मचारी, संघसंस्था तथा व्यक्तिहरुलाई समेत सहयोग गर्न अपिल गरिएको छ । संक्रमणको शंकामा क्वारेन्टाईनमा तथा आइसोलेशनमा बसेका व्यक्तिहरुलाई व्यवस्थापनको लागि गाउँपालिकाका २९ जना जनप्रतिनिधीहरुले एक महिनाको सेवा सुविधा कोषमा जम्मा गर्ने निर्णय गरेका हुन् ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन ताप्ली गाउँपालिकामा उच्च सतर्कता अपनाइएको गाउँपालिकाका अध्यक्ष उद्धबसिंह थापाले बताउनुभयो । गाउँपालिकामा ८ वटा हेल्प डेस्कको स्थापना गरिएको छ भने ३० बेडको आईशोलेसन तयार गरिएको छ ।

पालिकाका अनुसार भारतबाट आएका २० जनालाई कटारीमा रहेको क्वारेन्टाइनमा राखिएको छ भने अन्य नौ जना होम क्वारेन्टाइनमा राखिएको छ । भारत लगायत अन्य देशहरुबाट आएका मानिसहरुको निगरानी गर्ने र विरामी भएकाहरुको चेकजाँच गर्ने व्यबस्था मिलाईएको पालिकाले जनाएको छ । यस्तै कोभिड १९ बाट बच्न सरकारले गरेको लकडाउन सफल पार्न गाउँपालिकाको सबै नाकाहरु ठप्प पारिएको र अत्यावश्यक सामाग्री र आउजाउका लागि अनुमतिको व्यवस्था अध्यक्ष थापाले बताउनुभयो ।

Loading...
प्रकाशित मिति २२ चैत्र २०७६, शनिबार ०२:३७