नेपालमा पहिलोपटक देशभित्रै एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना सर्‍यो

फाइल तस्बिर

काठमाडौं / नेपालमा पहिलो पटक देशभित्रै एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना भाइरस (कोभिड–१९) सरेको पुष्टि भएको छ । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कैलाली र कञ्चनपुरमा गरी ३ जनामा कोरोना संक्रमणको पुष्टि गरेको छ ।

यसअघि विदेशबाट आएका नेपालीमा मात्रै कोरोनाको संक्रमण पुष्टि भएको थियो । तर शनिबार कोरोना संक्रमण देखिएकी कैलालीकी एक महिलालाई भने यसअघि कैलालीमा भेटिएका कोरोना संक्रमित पुरुषबाट सरेको पाइएको हो । उनी ती पुरुषका आफन्त हुन् । ती पुरुष दुबईबाट नेपाल आएका थिए ।

नेपालमा एकैसाथ तीनजनामा कोरोना संक्रमण देखिएको छ । कैलाली र कन्चनपुरमा थप तीनजनामा कोरोना भाइरस पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

भारतबाट फर्किएका २१ वर्षीय युवक, भारतको उत्तराखण्डबाट कञ्चनपुर फर्किएका ४१ वर्षीय पुरुष र यसअघि कैलालीमा कोरोना संक्रमण देखिएका ३४ वर्षीय पुरुषका आफन्त ३४ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ ।

Loading...
प्रकाशित मिति २२ चैत्र २०७६, शनिबार ०८:२७