सरकार हामी खाडी मुलुकमा भोक भोकै मर्नु ?

काठमाडौं २३ चैत / चिनको वुहानबाट फैलिएको (कोभिड-१९) कोरोना भाइरसको महामारीले विश्वनै गलेको बेला कोभिड-१९ रोकथामको लागि आफ्ना मुलुकहरुमा सरकारले लकडाउन घोषणा गर्दै आएका छन् ।

लकडाउनका कारण रोजगारीका लागि विभिन्न मुलुक पुगेका नेपालीहरु अलपत्र परेका खबरहरु आइरहेको छ । त्यस्तै केहिबर्ष यता रोजगारीको लागि कुवेत पुगेकी झापाकी बबिता बराइलीले आफू अलपत्र परेको खबर चौतारी मिडियालाई बताएकी छन् ।

कोरोना भाइरसका कारण काम गर्ने ठाउँ बन्द भएपछि, विद्यालयमा काम गर्दै आएकी बबितालाई निकै ठूलो संकट परेको उनले बताइन् । स्थानियको घरमा डेरा गरेर बसेपनि कोठामा खाद्यान्न सामान नहुनाले के खाएर बाच्ने भन्ने नै सोच्न नसकेको उनी बताउँछिन् । उनले थपिन् : “घर भाडा नबुझाए बस्न दिँदैन अब त भाडा बुझाउने पैसा पनि छैन नेपाल जाउ भने कसरी जाउ ?”

दूतावासमा पटकपटक सम्पर्क गर्दापनि फोन नउठ्ने’, फोन उठेपनि सम्बन्धित निकायले चासो नदिएपछि मिडिया सामु आफ्नो दु:ख व्यक्त गर्नु परेको उनी बताउँछिन् ।

“भारत र फिलिपिन्सको साथिहरुलाइ उनिहरुको सरकारले लाने भएको छ, म चाहिँ भोकै मर्छु होला ।”

कुवेतमा हालसम्म ४ सय १७ जनालाई कोरोना संक्रमण भएको छ । यसमध्ये ८२ जना निको भएका छन् । लगभग ७० हजार नेपाली कामदार रहेको कुवेतमा हालसम्म २ जना नेपालीलाई कोरोना संक्रमण देखिएको छ ।

नोट : यदि तपाईं कुवेतमा हुनुहुन्छ र बबिता बराइलीलाई सहयोग गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोला हामी उहाको नाम ठेगाना र सम्पर्क नं उपलब्ध गराइदिनेछौ ।

सम्पर्क : 9823021548 (नेपाल)

Loading...
प्रकाशित मिति २३ चैत्र २०७६, आईतवार १०:१९