बुटवलमा किटनाशक औषधि छर्किँदै..

कृष्ण पाण्डे,

बुटवल, २३ चैत / कोरोना भाइरसविरुद्धको अर्को अभियान अन्तर्गत बुटवलमा क्लोरिन तथा ब्लिचिङ पाउडरसहितको किटनाशक स्प्रे छर्किएको छ ।

शहरका मुख्य सडकहरूलाई डिस्इन्फेक्सन गराउनका लागि किटनाशक औषधि छर्न थालिएको हो । उप महानगर पालिकाले नगरभित्रका वाइपास सडकमा क्लोरिन झोल र ब्लिचिङ पाउडर मिश्रित औषधि छर्कने काम सुरु गरेको हो ।

नगरबासीलाई लकडाउनको पालना गर्न सार्वजनिक अपील जारी राख्नुका साथै उप महानगर पालिकाले नगरभित्र रहेका ३० फुटे सबै सडक डिसइन्फेक्सन बनाउन लागेको प्रमुख शिवराज सुवेदीले जानकारी दिनुभयो । ब्लिचिङ पाउडर र क्लोरिन झोलयुक्त विषादीलाई मानव स्वास्थ्यमा असर नपर्ने भन्दै विज्ञहरूले सिफारिस गरिसकेका छन् ।

उपमहानगरले दमकल प्रयोग गरेर एकै पटक ४५ सय लिटर औषधि छर्किरहेको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले बताउनुभयो । दमकलमा राखेर सडक र पेटीमा छर्कनुका साथै सार्वजनिक सन्देश पनि प्रवाह गरिएको शर्माले बताउनुभयो ।

उपमहानगरपालिकाले विशेषज्ञको सिफारिसमा डिसइन्फेक्सनको झोल छर्किएको र सबै वडामा पुर्‍याइने बताइएको छ ।

पहिलो चरणमा ४ लाख ६८ हजार लिटर क्लोरिन छर्किने बताइएको छ । साथै अपुग भएको अवस्थामा थप क्लोरिन ल्याएर सडकमा छर्कने जनस्वास्थ्य महाशाखाका शाखा अधिकृत कुन्दनकुमार सिंहको भनाइ छ ।

Loading...
प्रकाशित मिति २३ चैत्र २०७६, आईतवार १३:३१