नातिको बिहेका लागि लण्डन पुगेका एक नेपालीको कोरोना संक्रमणबाट मृत्यु

(खसोखास बाट )

लण्डन, २९ चैत्र / नातीको विहेका लागि बेलायत आएका एकजना नेपालीको कोरोना भाइरस संक्रमणका कारण निधन भएको छ । गत फेब्रुअरी महिनाको २६ तारिख लण्डन आइपुगेका बाग्लुंग अमलाचौरका ७५ वर्षीय कर्णबहादुर क्षेत्रीको बुधबार लण्डनको नर्थविक पार्क अस्पतालमा निधन भएको हो ।

मार्च ३० तारिखका दिन अस्पताल भर्ना भएका उनलाई त्यसको दुई दिनपछि भेन्टिलेटरमा राखिएको थियो । एम्बुलेन्समा आएको प्यारामेडिकको टोलीले पनि अरु सबै सामान्य रहेको तर अक्सिजनको कमी भएको हुन सक्ने बताएपछि अस्पताल भर्ना गरिएको थियो । त्यसअघि क्षेत्रीलाई श्वासप्रश्वासमा समेत कुनै समस्या भएको थिएन ।

अस्पताल भर्ना गरेर जाँच गर्दा क्षेत्रीलाई निमोनिया देखिएको डाक्टरहरुले बताएका थिए । सोमबार साँझ अस्पताल भर्ना भएका उनलाई बुधबार बिहानदेखि भेन्टिलेटरमा राखिएको थियो । क्षेत्रीलाई कोरोनाको संक्रमण पुष्टी भएको जानकारी पनि परिवारले सोहि दिन पाएको थियो ।

बुधबार दिउँसो अस्पतालले परिवारलाई टेलिफोन गरेर क्षेत्रीलाई बचाउन कुनै उपाय नलागेको जानकारी गराएको थियो । अप्रत्यासित रुपमा क्षेत्रीको निधनपछि अहिले परिवार मर्माहत छ । क्षेत्रीसंगै आएकी उनकी ७१ वर्षीय श्रीमतीलाई सम्हालिन गाह्रो परेको छ ।

मृतक कार्की इण्डियन आर्मीका ‘रिटायर्ड पेन्सनर’ थिए । अवकाशप्राप्त जीवनलाई आफ्नै गाउँमा समाजसेवा र राजनीतिमा लगाएका उनी तत्कालिन गाविसमा एमालेको तर्फबाट उपाध्यक्ष निर्वाचित भएका थिए । परिवारका अनुसार उनलाई खासै कुनै ठूलो स्वास्थ्यसमस्या समेत थिएन ।

क्षेत्रीका ४ छोरा र तीन छोरी छन् । जेठो छोरा मिलन परिवारसहित लण्डनमा छन् भने कान्छो छोरा र बुहारी जापानमा छन् । अरु सबै नेपालमै छन् ।

नातीको विहेका लागि लण्डन आएका क्षेत्री दम्पति अप्रिल २६ मा नेपाल फर्किने टिकट थियो । कोरोनाको महामारी सुरु हुन लागेपछि नेपाल नै बढि सुरक्षित हुन्छ कि भनेर बाबुआमालाई पठाउनेबारे सोंचेका पनि थिए छोराबुहारीले । तर भनेजस्तो व्यवस्था नभएपछि बेलायतमै बस्दा पनि राम्रै होला भनेर चित्त बुझाएका थिए उनीहरुले ।

मार्चको अन्तिमसातादेखि अहिलेसम्म बेलायतमा क्षेत्रीसहित ६ जना नेपालीको निधन भइसकेको छ । सबैको मृत्यु कोरोनाबाट भएको जनाएको छ ।

त्यस्तै भारतको मुम्बईमा बस्दै आएका नेपालीको परिवारमा कोरोना भाइरस संक्रमण फैलिएको छ । एकै पसरवारका ८ जना नेपालीमा कोरोना संक्रमण देखिएसँगै भारतमा रहेका नेपालीमध्ये १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार मुम्बईको गिरगाउँ चौपाटीमा रोजगारी गरेर बस्दै आएको नेपाली परिवारमा उक्त संक्रमण देखिएको हो । अछाम घर भएर हाल मुम्बईमा रहेको सो परिवारका २ दाजुभाइ, उनीहरूका श्रीमती र ४ बालबालिकामा कोरोना संक्रमण देखिएको हो ।

संक्रमित सबैको स्वास्थ्य अवस्था भने सामान्य रहेको जनाइएको छ । उनीहरु केहीको मुम्बईकै कस्तुरवा अस्पतालमा उपचार भइरहेको छ भने केही आइसोलेसनमा रहेका छन् ।

यसअघि भारतको बैंग्लोर बस्दै आएको एक नेपाली दम्पतीसहित चार नेपालीमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।

Loading...
प्रकाशित मिति २९ चैत्र २०७६, शनिबार ०४:५३