लकडाउन छल्न गाउँ पुगेका युवाको चट्याङ लागेर मृत्यु

काठमाडौं / बागलुङ जिल्लामा आज चट्याङले लागेर एक युवाको मृत्यु भएको छ । बागलुङ नगरपालिका–१३ गलुवाका २६ वर्षीय शङ्कर रिजालको आज दिउँसो ४ः३० बजे घरको पिँढीमा खाजा खाँदै गर्दा चट्याङले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हेम केसीले जानकारी दिनुभयो ।

चट्याङबाट गम्भीर घाइते रिजालको धौलागिरि अञ्चल अस्पताल बागलुङमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

चट्याङले लागेर उहाँसँगै २० वर्षीय रेश्मी भट्ट घाइते हुनुभएको छ । रिजालको गोठमा रहेको भैँसीसमेत चट्याङले लागेर मरेको छ ।

त्यस्तै स्थानीय वायुको प्रभावले आज साँझपख देशको धेरैजसो स्थानमा मेघगर्जन, हावाहुरी, चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

स्थानीय वायुको प्रभावसँगै प्रिमनसुन सक्रिय भएकाले मौसमी गतिविधि बढेको मौसमविद् राजु प्रधानाङ्गले बताउन्ुभयो । उहाँका अनुसार यस प्रणालीको प्रभावले आज उपत्यकासहित देशको धेरै स्थानमा मेघगर्जन, हावाहुरी, चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

उक्त मौसमी प्रणालीको असर आज रातिसम्म मात्र कायम रहने जनाएको छ । प्रिमनसुको गतिविधि भएकाले यसको प्रभाव लामो समय नरहने मौसमविद्को भनाइ रहेको छ ।रासस

 

Loading...
प्रकाशित मिति २९ चैत्र २०७६, शनिबार १५:१५